२०८३, कार्तिक १३ गते शुक्रबार

सुन्तला बिक्री हुँदा किसान खुसी

सुन्तला बिक्री हुँदा किसान खुसी


  • मेरोभ्यूज
  • मंसिर १०, २०८२ बुधबार

  • सुन्तला बिक्री हुँदा किसान खुसी

     

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५, बबकका गेशबहादुर रानालाई यस पटक बोटबाटै सुन्तला राम्रो मूल्यमा बिक्री हुँदा खुसी लागेको छ ।

    अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनु पर्ने र मूल्यसमेत कम पर्ने गरेकोमा अहिले सहजरुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले जानकारी दिए ।

    जिल्लाको सुन्तला उत्पादनको प्रख्यात गाउँका रुपमा चिनिएको बबकका सुन्तला किसानले सहजै बगैँचाबाटै सुन्तला बिक्री गर्दै आएको रानाले बताए ।

    स्थानीय व्यापारीले बगैँचाबाटै हाल प्रतिकिलो रु. ६० देखि रु. ६५ सम्ममा सुन्तला बिक्री गर्दै आएको उनले सुनाए ।

    “एकातर्फ सहजरुपमा बगैँचाबाटै सुन्तला बिक्री भएको छ, अर्कोतर्फ सुन्तलाको मूल्यसमेत अघिल्ला वर्षकोभन्दा धेरै मूल्य पाउँदा किसान उत्साहित बनेका छन्”, रानाले भने । गत वर्ष रु. ५० देखि रु. ५५ प्रतिकिलोसम्म सुन्तला बिक्री भएकोमा अहिले मूल्यसमेत केही बढेको उनले बताए ।

    नवलपुरको पहाडी क्षेत्रमा लगाइएको सुन्तला टिप्न यतिबेला किसान व्यस्त छन् ।

    टिपिएका सुन्तला गाउँबाटै बिक्री हुँदा थप सहज भएको बुलिङ्टार–५, राइकोटका सुन्तला किसान कृष्ण सारुले बताए ।

    उनको मात्रै करिब एक हजार सुन्तलाको बोट रहेका छन् । सुन्तला पाकेपछि स्थानीय बजारमा बिक्री गर्दै आएको उनले सुनाए ।

    मौसम राम्रो भएकोले यस पटक सुन्तलाको दानासमेत राम्रो लागेको र बजार भाउ राम्रो प्राप्त गरेको सारुले बताए ।

    गत वर्ष राइकोटमा उत्पादन भएको सुन्तला साना दाना भएकोमा अहिले दाना राम्रो लागेको उनले जानकारी दिए ।

    उत्पादन भएको सुन्तला स्थानीय कावासोती बजार क्षेत्रमा नै आफूले खपत गर्दै आएको सारुले बताए ।

    “अहिले सुन्तला बजार पठाउनेक्रम छ, जिल्लाका स्थानीय बजारमा खपत हुँदै आएको छ, पछि के हुन्छ हेरौँ”, सारुले भने ।

    जिल्लाको पहाडी क्षेत्र बबक, राइकोट, जौवारी, ढोडेनी, देउरालीलगायत क्षेत्रमा सुन्तला उत्पादन हुने गरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न शुरु गरेका छन् ।

    स्थानीय व्यापारी बगैँचामा नै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । कतिपय व्यापारीले फोन गरेर सुन्तला माग गरेपछि पठाइदिने गरेको बबकका किसान रानाले जानकारी दिए ।

    नवलपुरका स्थानीय बजारसँगै चितवनको नारायणगढबाट सुन्तला माग हुँदै आएको उनले बताए ।

    “व्यापारीले माग राम्रै गरिरहेका छन्, यही मूल्य तयगरी जोखेर पठाएमात्रै हुन्छ, कुन बजारमा लगेर बेच्ने भन्ने चिन्ता अहिले छैन”, रानाले भने ।

    किसान आफैँले सुन्तला बजारमा पुर्याउँदा मूल्य निर्धारण कति हुने, कुन ठाउँ लैजाने भन्ने चिन्ता हुने गरेकोमा गाउँबाटै मूल्य तय गरी व्यापारीको मागअनुसार पठाउने गरेको उनको भनाइ छ ।

    गाउँका विभिन्न स्थानमा स्थानीय व्यापारीलेसमेत सुन्तला सङ्कलन गरी सोही ठाउँबाट खरिद बिक्री गर्दै आएका छन् । यसले गर्दा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ ।

    नवलपरासी पूर्व नवलपुरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरद्वारा सुन्तला जातका फलफूल जोन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा व्यावसायिकरुपमा सुन्तलाको उत्पादन बढ्दै गएको छ ।

    कार्यालयका सूचना अधिकारी रणबहादुर महतोका अनुसार नवलपुरमा एक सय ८० हेक्टर क्षेत्रफल सुन्तलाजात फलफूलको उत्पादशील क्षेत्र रहेको छ ।

    गत आर्थिक वर्षमा नवलपुरमा एक हजार चार सय टन सुन्तला उत्पादन भएको थियो । सूचना अधिकारी महतोका अनुसार कागती १८ टन उत्पादन भएको थियो । गत वर्ष किसानले सुन्तला बिक्रीबाट करिब रु. आठ करोड र कागती बिक्रीबाट रु. १७ लाख ८६ हजार आम्दानी गरेका थिए ।


    प्रकाशित : बुधबार, मंसिर १० २०८२१०:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार