२०८३, कार्तिक १२ गते बिहीबार

शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता


  • मेरोभ्यूज
  • कार्तिक ११, २०८३ बुधबार

  • शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

     

    काठमाडौँ । शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको भेटका क्रममा द्विपक्षीयसम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको छ ।

    भेटका क्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्विस सरकारले पुर्याउँदै आएको दीर्घकालीन सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

    उनले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा स्विस सहयोग र सहकार्यले निरन्तरता पाउने र नयाँ आयामका साथ अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

    मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभेट) सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

    सो ऐन पारित भएपछि प्राविधिक शिक्षाका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत सुधार हुने, सीटीईभीटीको पुनर्संरचना हुने र प्राविधिक तथा व्यावसायिक शिक्षा थप व्यवस्थित बन्ने उनले स्पष्ट पारे ।

    साथै, प्राविधिक तथा व्यावसायिक शिक्षाका साथै आगामी दिनमा उच्च शिक्षाको क्षेत्रमा पनि दुई देशबीच सहकार्य विस्तार गर्न सकिने मन्त्री पोखरेलले बताए ।

    विशेष गरी शिक्षक (फ्याकल्टी) तथा विद्यार्थी आदान-प्रदानजस्ता कार्यक्रममार्फत उच्च शिक्षामा सहकार्य बढाउन सकिने सम्भावनाबारे मन्त्री पोखरेलले जोड दिए ।

    सो अवसरमा राजदूत मेउलीले हालै भोटेकोशीमा आएको बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति स्विस सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गरेका थिए ।

    मानवीय क्षति तथा आपतकालीन अवस्थालाई सम्बोधन गर्न स्विस सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको तत्काल सहायता र पुनर्स्थापना सहयोगबारे मन्त्री पोखरेललाई अवगत गराए ।

    नेपाल र स्विट्जरल्याण्डबीच लामो समयदेखि रहँदै आएको द्विपक्षीयसम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै राजदूत मेउलीले स्विस सरकारको विश्वव्यापी द्विपक्षीय सहयोग नीतिको परिवर्तन अनुसार नेपालमा भविष्यमा हुने सहयोगका प्राथमिकता र स्वरूपमा पर्न सक्ने प्रभावबारे पनि जानकारी दिए ।


    प्रकाशित : बुधबार, कार्तिक ११ २०८३११:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार