कैलाली । कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन् ।
कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय शुरु गरेका उनका लागि अहिले यो व्यवसाय आम्दानीको प्रमुख स्रोत बनेको छ ।
विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने योजनासहित माछापालन व्यवसाय गर्दै आएका खरेलले माछापालन व्यवसायबाट वार्षिकरूपमा रु. १५ लाख बचत गर्दै आएका छन् । उनले रु. १२ हजार लगानीबाट माछापालन व्यवसाय शुरु गरेको भन्दै हालसम्म करिब रु. ५० लाख लगानी गरिसकेको जानकारी दिए ।
आफ्नै जमिनमा चारवटा ठूला पोखरी निर्माण गरी माछापालन गर्दै आएको बताउँदै खरेलले वार्षिक रु. ६५ लाख बराबरको कारोबार हुने उल्लेख गरे । सम्पूर्ण खर्च कटाएर वार्षिक रु. १५ लाख जति बचत हुने गरेको उनको भनाइ छ ।
“माछापालनमा लगानीसँगै मेहनत र समय दिनुपर्दछ । राम्रोसँग व्यवस्थापन गर्न सके यसबाट परिवारको खर्च धान्ने मात्र होइन, राम्रो बचत पनि गर्न सकिन्छ”, उनले भने ।
माछापालन व्यवसायको रेखदेख तथा हेरचाहका लागि आठ जना स्थानीयलाई उनले रोजगारी दिएका छन् । उनीहरूको मासिक तलब मात्रै रु. एक लाख ५२ हजार रहेको उनले जानकारी दिए ।
खरेलको पोखरीमा हाल ग्रास, कमनकार्प, रहु, जलकपुरलगायत जातका तीन सय क्विन्टल जति माछा छन् । माछा होलसेलमा प्रतिकिलो रु. तीन सय र खुद्रा प्रति किलो रु. तीन सय ५० का दरले बिक्री गर्दै आएको उनले बताए ।
पछिल्लो समय यहाँको दक्षिणी सिमानामा कडाइ गरिएपछि अवैधरूपमा नेपाल भित्रिने भारतीय माछाको आयात रोकिएकाले बजारमा माछाको मूल्य पनि सोचेअनुसार प्राप्त भइरहेको किसान खरेलले बताए ।
माछापालन व्यवसायसँगै कुखुरापालन, बङ्गुरपालन व्यवसाय पनि उनले गर्दै आएका छन् ।
कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन तथा स्थानीय उत्पादन प्रवर्द्धन गर्न माछापालनजस्ता व्यवसायलाई प्रोत्साहन गर्न सके गाउँमै रोजगारी सिर्जना हुनुका साथै किसानको आर्थिक अवस्था सुधारमा समेत महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

