२०८३, कार्तिक १२ गते बिहीबार

‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’


  • मेरोभ्यूज
  • कार्तिक ११, २०८३ बुधबार

  • ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

     

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माध्यमिक विद्यालयले तरकारी खेती शुरु गरेको छ ।

    विद्यालयको दिवाखाजा र छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने तथा विद्यार्थीहरूलाई प्राविधिक र व्यावसायिक ज्ञान र सीप सिकाउने उद्देश्यले तरकारी खेती शुरु गरिएको हो ।

    ताकम माध्यमिक विद्यालयका प्रधानाध्यापक केशर रावलले टनेल बनाएर मौसमी र बेमौसमी तरकारी खेती शुरुआत गरेको जानकारी दिए ।

    “विद्यार्थी र शिक्षकहरूले फुर्सदको समयमा प्रयोगात्मक अभ्यासका लागि पहिलो चरणमा एउटा टनेलमा बन्दा, काउली र गाजर लगाएका छौँ,” उनले भने, “थप जमिनमा हिउँदे आलु र साग प्रजातिका तरकारी लगाउने तयारीमा छौँ ।”

    ताकमको मैदानमा रहेको तीन रोपनीभन्दा बढी क्षेत्रफलको जग्गामा तरकारी खेतीलाई निरन्तरता दिने विद्यालयको योजना छ ।

    कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई तरकारी खेतीमा सहभागी गराइएको छ ।

    तरकारी खेतीका लागि गाउँपालिकाले ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रममार्फत आर्थिक वर्ष २०८२/०८३ मा रु. एक लाख ५० हजार सहयोग गरेको छ ।

    दातृ संस्था ‘गुड नेवर्स इन्टरनेसनल’को सहयोगमा सङ्गम म्याग्दीतर्फबाट सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाले प्राङ्गारिक प्रविधिबाट खेती गर्ने तरिकाका विषयमा प्राविधिक सहयोग गरेको छ ।

    उक्त परियोजनाले करेसाबारी कार्यक्रममार्फत थप सहयोग गर्ने जनाएको प्र.अ. रावलले बताए । कक्षा ८ देखि १२ सम्म इलेक्ट्रिक इन्जिनियरिङ विषयको पठनपाठन हुने ताकम माध्यमिक विद्यालयमा दुई सय २१ जना विद्यार्थी अध्ययनरत छन् ।

    विद्यार्थीहरूले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्रावासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    करेसाबारीमा बिताउँदा विद्यार्थीहरूले जीवनोपयोगी र व्यावसायिक सीप सिक्नका साथै ‘रिफ्रेस’ महशुस गरेका छन् ।


    प्रकाशित : बुधबार, कार्तिक ११ २०८३११:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार