
काठमाडौँ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ ।
कीर्तिपुर, काठमाडौँमा कम्पनीका अध्यक्ष नवीन महर्जनको सभापतित्व तथा समाजसेवी श्रीराम महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारण सभाले कम्पनीको तर्फबाट अध्यक्ष महर्जनद्वारा प्रस्तुत आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभाले लेखापरीक्षकको प्रतिवेदन आ.व. २०८२/०८३ को वासलात नाफा/नोक्सान हिसाब नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८३/०८४ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेसम्बन्धको साथमा अन्य विशेष प्रस्तावहरूसमेत साधारण सभामा पारित भएका छन ।
आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीले रु. १७ करोड ६५ लाख २८ हजार २२८ आम्दानी गर्न सफल भएको छ भने श्रावणदेखि भदौसम्म रु. ४ करोड ३५ लाख ४१ हजार ८६ बराबरको आम्दानी गर्न सफल भएको छ ।
कम्पनीले विभिन्न बैंकिङ तथा वित्तीय संस्थाबाट लिएको ट्रम लोन रु. ९८ करोड र वर्किङ क्यापिटल लोन रु. ५ करोड लिएकोमा आव २०८२/०८३ को अन्त्यसम्म वर्किङ क्यापिटल लोन लिमिट रु. ३ करोड ५० लाख र टर्म लोन रु. ४१ करोड ६९ लाख ३३ हजार ४६ रहेको समेत कम्पनीले जनाएको छ ।
आ.व. २०८२/०८३ मा बैंकको ब्याज लागतमा १८ दशमलव ८२ प्रतिशतले कमी आएको छ भने जसको प्रत्यक्ष परिणाम स्वरूप प्रति शेयर आम्दानी इपिएस मा ९८.१६% ले वृद्धि भएको समेत जानकारी सभामा दिइएको थियो ।
यसैगरी कम्पनीले श्रावण, भदौ महिनामा ७८,८७,८७७.९३ किलोवाट विद्युत उत्पादन गरेको थियो भने ७.८८ गिगावाट आवर युनिट विद्युत उत्पादन गरेको कम्पनीले जनाएको छ ।
यसैबीच कम्पनीको वर्तमान तथा भविष्यको योजनाबारे शेयरधनीहरूद्वारा उठाइएका विभिन्न सवालहरूको जवाफ कम्पनी अध्यक्ष महर्जन तथा अन्य पदाधिकारीहरूले दिएका थिए । साथै विभिन्न चाडपर्वको शुभकामना आदान-प्रदानका साथ कम्पनीको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।


