२०८३, कार्तिक १३ गते शुक्रबार

अकबरे खुर्सानी खेतीबाट वार्षिक रु. ५५ लाख आम्दानी

अकबरे खुर्सानी खेतीबाट वार्षिक रु. ५५ लाख आम्दानी


  • मेरोभ्यूज
  • कार्तिक २१, २०८२ शुक्रबार

  • अकबरे खुर्सानी खेतीबाट वार्षिक रु. ५५ लाख आम्दानी

     

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजित राईले व्यावसायिक खुर्सानीखेतीबाट वार्षिक रु. ५५ लाख आम्दानी गर्दै आएको छ ।

    आफ्नै गाउँमा कृषिकर्मबाट उद्यमी बन्ने लक्ष्यका साथ उनले ४२ रोपनी क्षेत्रमा करिब ३२ हजार बोट खुर्सानीखेती गरेको हो ।

    आफ्नै ठाउँमा कृषिकर्म गरेर उदाहरणीय बन्ने उद्देश्यले व्यावसायिक खुर्सानी खेतीमा जुटेको राईले बताए ।

    करिब आठ वर्षअघिदेखि मौसमी र बेमौसमी दुवै प्रकारका खुर्सानीखेती गर्दै आएका उनी जिल्लाका परिचित खुर्सानी किसान हुन् ।

    “खुर्सानीखेतीबाट वार्षिक रु. ५५ देखि रु. ६० लाखसम्म आम्दानी गर्छु”, किसान राईले भने, “४२ रोपनी जग्गा भाडामा लिएर ३२ हजार हाराहारी बोट लगाएको छु । गत वर्ष पनि रु. ५० लाख बढी आम्दानी भएको थियो ।”

    खुर्सानीखेतीका लागि उनले वार्षिक रु. दुई लाख तिरेर ६५ रोपनी जग्गा भाडामा लिएको जानकारी दिए ।

    यस वर्ष खेतीका लागि करिब रु. १२ लाख लगानी गरेको जनाउँदै उनले युवामा विदेशप्रतिको मोह बढिरहेको समयमा आफूले भने आफ्नै बारीमा व्यावसायिक रूपमा कृषिकर्म गरिरहेको सुनाए ।

    विभिन्न तीन ठाउँमा जग्गा व्यवस्थापन गरेर खेती गर्दै आएका राईले हाल चार जनालाई रोजगारीसमेत दिएको छ ।

    सडक पहुँच राम्रो भएकोले उत्पादन भएको खुर्सानी घरबाटै बिक्री गर्न सहज भएको उनको भनाइ छ ।

    पौवादुङमा उत्पादन भएको खुर्सानी धरान, इटहरी, विराटनगर, झापा र काठमाडौंसम्म बिक्रीका लागि पठाउने गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन । उनका अनुसार खुर्सानीखेती अहिले पालिकाको मुख्य आम्दानीको स्रोत बनेको छ ।

    किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोगका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए ।

    “अकबरे खुर्सानी हाम्रो गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत बनेको छ”, उनले भने, “हामीले कृषि क्षेत्रमा लगानी बढाउँदै भूगोल सुहाउँदो खेतीमा जोड दिइरहेका छौँ ।”

    गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुर्याउँदै आएको छ ।

    खुर्सानीखेतीको विस्तारका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले सात सय ५० किसानलाई करिब रु. ७० लाख बराबरको ‘मल्चिङ प्लास्टिक’सहित आवश्यक कृषि सामग्री वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए ।

    गाउँपालिकाले सञ्चालन गरेको सहयोगात्मक कार्यक्रमका कारण यस वर्ष खेती विस्तार भएको उनको भनाइ छ ।

    उनका अनुसार अहिले पौवादुङमा करिब पाच सय हेक्टर क्षेत्रमा करिब नौ सय किसानले व्यावसायिकरूपमा अकबरे खुर्सानीखेती गर्दै आएका छन् ।


    प्रकाशित : शुक्रबार, कार्तिक २१ २०८२१०:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार