२०८३, कार्तिक १२ गते बिहीबार

आम्दानी बढाउन बुद्धचित्तको बिरुवा

आम्दानी बढाउन बुद्धचित्तको बिरुवा


  • मेरोभ्यूज
  • श्रावण २७, २०८२ मंगलबार

  • आम्दानी बढाउन बुद्धचित्तको बिरुवा

     

    रामेछाप । विद्यालयको आन्तरिक स्रोत वृद्धि गर्न रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली माध्यामिक विद्यालयले विद्यालय परिसरमा बुद्धचित्तको बिरुवा रोपेको छ ।

    सधैँ राज्यको भर परेर विद्यालय सञ्चालन गर्नुभन्दा वर्तमान अवस्थामा विद्यालय आफ्नै आन्तरिक स्रोतमा सञ्चालन गर्न जरुरी रहेकाले विद्यालय परिसरमा एक सय चार बोट बुद्धचित्तको बिरुवा रोपिएको मन्थली मा.वि.का प्रधानाध्यापक टङ्कप्रसाद दाहालले बताए ।

    सुनापति गाउँपालिकामा रहेको डहु मा.वि. बेथानले बिरुवा र बिरुवा रोप्न प्राविधिक सहयोग निःशुल्क रूपमा गरेको हो । उक्त विद्यालयले बुद्धचित्तको बिरुवा र फल उत्पादनबाट मनग्य आम्दानी गर्दै आएको छ ।

    अरुको आशमा होइन, आफ्नो विद्यालय आफैँ सक्षम र सवल बनाउनुपर्छ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै जुनसुकै विद्यालयले माग गरेको बिरुवा र प्राविधिक सहयोग उपलब्ध गराउन तयार रहेको डहु मा.वि.का प्रधानाध्यापक बलबहादुर वलले बताए ।

    मन्थली मा.वि.को अनुरोधपछि आफ्नो विद्यालयमा उत्पादन गरिएका बुद्धचित्तको बिरुवा मन्थली मा.वि.मा गएर रोप्न सहयोग गरेको उनले बताए ।

    विद्यालयको अनुरोध स्वीकार गरी बिरुवासहित प्राविधिक सहयोग गर्ने डहु मा.वि.ले अरु विद्यालयलाई पनि यस्तै सहयोग गर्ने हो भने धेरै विद्यालय आत्मनिर्भर हुने मन्थली मा.वि.का सहायक प्रधानाध्यापक चन्द्रसिंह धामीले बताए ।

    जुनसुकै हावापानीमा पनि हुने यो फलका लागि धेरै मेहनत र परिश्रम गर्नु नपर्ने विद्यार्थीलाई पनि व्यावहारिक ज्ञान सिकाउनका लागि यसले प्रयोगात्मक अभ्यासको काम गर्ने भएकाले आफ्नो विद्यालयमा पठ्यपुस्तक पढाइका साथै यस्ता काममा कक्षा १० देखि १२ का विद्यार्थीलाई सहभागी गराइने गरेको डहु मा.वि.का प्रधानाध्यापक वलले जानकारी दिए ।

    विद्यालयहरू आत्मनिर्भर बनाउने आफ्नो अभियान भएकाले विद्यालय परिसरमा बुद्धचित्त रोप्न चाहना गर्ने जुनसुकै विद्यालयलाई पनि आफ्नो विद्यालयमा उत्पादन गरिएको बुद्धचित्तको बिरुवा निःशुल्क उपलब्ध गराउन सकिने उनले बताए ।

    रोपेको करिब दुई वर्षदेखि नै उत्पादन दिने उक्त प्रति किलो रु. तीन हजारदेखि रु. पाँच हजारसम्ममा बोटबाटै बिक्री हुने गरेको छ ।


    प्रकाशित : मंगलबार, श्रावण २७ २०८२१०:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार