२०८३, कार्तिक १२ गते बिहीबार

दूध र मह बिक्रीबाट आम्दानी

दूध र मह बिक्रीबाट आम्दानी


  • मेरोभ्यूज
  • श्रावण ८, २०८२ बिहीबार

  • दूध र मह बिक्रीबाट आम्दानी

    बागलुङ । बसाइँ-सराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जस्को कृषि कर्म साँच्चिकै लोभलाग्दो छ ।

    आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा व्यावसायिक घाँसखेती । यसैबाट गाउँमै सम्भावना खोजिरहेको छ, रघुनाथ पौडेल ।

    उमेरले ६२ वर्ष पुगेका पौडेल र उनका ३३ वर्षीय छोरा राजन पौडेल दिनभर गाईभैँसीको स्याहार र दूध व्यवस्थापनमा व्यस्त हुन्छ ।

    गाईभैँसीपालन, तिनको मलबाट व्यावसायिक घाँसखेती गर्दै आएका पौडेल परिवारसँग प्लाष्टिक टनेलदेखि तोरी पेल्ने र कुटानी–पिसानी गर्ने मिलसमेत छ ।

    बाउछोरा मिलेर पाँच वर्षयता दूध र मह उत्पादन गर्दै आएको छ । गाउँमा बसाइँ-सराइले बाँदर आतङ्क भएपछि अन्नबालीसमेत कम उत्पादन हुन थालेको छ ।

    परम्परागत कृषिकर्म गरेर छोराछोरीलाई हुर्काएका रघुनाथ भने छोराकै साथले कृषि र पशुपालन कर्मलाई व्यावसायिक बनाइराखेको छ ।

    “गाउँ रित्तियो, सम्पत्ति भएका त सहरबजार सरे, हामी बाउछोरा यही गाउँमा केही गर्नुपर्छ भनेर लागेका छौँ”, बुबा रघुनाथले भने, “हाल छवटा मुर्रा भैँसी र तीनवटा गाईपालन गरेका छौँ । आँगनमा ३० वटा मौरीका घार छन्, दुई प्लाष्टिक टनेल, दस रोपनी जग्गामा घाँसखेती र तेल पेल्ने र कुटानी–पिसानी गर्ने मिल छ । यी मध्ये मासिक एक लाख वीस हजार त दूध बिक्रीबाटै कमाइन्छ ।”

    गाईभैँसी र पाडापाडीका लागि आवश्यक अन्न कुट्न र पिस्नका लागि घरमै कुटानी–पिसानी मिल सञ्चालन गरिरहेको उनले सुनाए ।

    पाँच वर्षअघिसम्म चितवनमा जग्गा भाडामा लिएर माछापालन गर्दै आएका ३३ वर्षीय छोरा राजनलाई गाउँका अन्य युवाजस्तै विदेश हिँड्न मन लागेको छैन, बरु गाउँमै व्यावसायिक कृषक बन्ने सोच आएको छ ।

    बुबाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने सोचका साथ काममा खटिएको उनको भनाइ छ ।

    “हाल दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउँदै आएका छौँ । छिस्ती पाडापाडी तथा भैँसीपालन फार्म स्थापना गरेर कृषि र पशुपालन गर्दै आएका छौँ । यसले पाडापाडीको संरक्षण र आम्दानी दुवै भइहेको छ, यसैमा खुसी छु”, राजनले भने ।

    हाल फार्ममा छ पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्कंदै गरेका छन् । यी सबै हुर्किए र उत्पादान सुरु भएमा थप व्यवसाय विकासमा योगदान पुग्ने उनको विश्वास छ ।

    बाँदरको आतङ्कपछि स्थानीयले खेतमा बाली लगाउन छाडेका छन् । त्यसैले पौडेल बाउछोराले दस रोपनी जग्गामा व्यावसायिक बहुवर्षे घाँसखेती गरेको छ ।

    यसबाहेक वार्षिक डेढ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्दा रु. दुई लाखभन्दा बढी आम्दानी हुने गरेको राजनले जानकारी दिए ।


    प्रकाशित : बिहीबार , श्रावण ८ २०८२११:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार