काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं, तिनकुनेमा हालै कम्पनीका अध्यक्ष बिशाल हुमागाइको सभापतित्वमा सम्पन्न सो साधारणसभाले कम्पनीको आ,व. २०८०/०८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ भने वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्नुका साथै आ.व. २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, निर्वाचन सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभाले पारित गरेको छ ।
अधिकृत पूँजी १ अर्ब रहेको सो कम्पनीको जारी पूँजी पनि १ अर्ब नै रहेको छ । शेयर पूँजीतर्फ चालू आ.व. जेठ महिनासम्ममा १ करोड ५ हजारबाट वृद्धि भइ ४८ करोड पुगेको कम्पनीले जानकारी गराएको छ ।
हाल शेयरधनीहरुको सङ्ख्या २,२०० पुगिसकेको छ भने अझ वृद्धि हुने क्रम जारी रहेको पनि साधारणसभामा जानकारी दिइएको थियो ।
कम्पनीको भावी रणनीति अनुसार शाखा संजाल विस्तार, क्यानिङ प्लान्ट स्थापना, कृषि पर्यटन, किसान सशक्तीकरण, डिजिटल प्लेटफर्म, सहायक कम्पनी स्थापना गर्नेलगायतका रहेका छ्न ।
कम्पनीले हाल डल्ले च्याउ उत्पादन र कम्पोस्ट मल उत्पादनलाई प्राथमिकतामा राखेको छ भने बिदेशबाट फर्किएर आएकाहरुलाई समेत ध्यानमा राखि कृषिमा योगदान दिन चाहेकालाई प्राथमिकतामा राखिएको कम्पनीले बताएको छ ।
साधारणसभामा शेयरधनीहरुबाट सोधिएका जिज्ञासाको जवाफ अध्यक्ष हुमागाइले दिएका थिए । हाल कम्पनीको केन्द्रिय कार्यालय मध्यपुर ठिमी, भक्तपुरमा रहेको छ भने व्यवसाय विस्तारका लागि मधेश प्रदेशको वारा, निजगढ र सर्लाहीमा कम्पनीले जग्गासमेत खरिद गर्नुका साथै अफिसियल कामको शुरुवातसमेत गरिसकेको छ ।


