काठमाडौँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार नौ सय १५ रुपैयाँ रोयल्टी जम्मा भएको हो ।
सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख नौ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि एक सय १९ आरोही समूहका दुई सय ४० महिला र आठ सय ८७ पुरुष गरी कूल एक हजार एक सय २७ जनाले आरोहण अनुमति लिएका छन् ।
विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र तीन सय ७२ पुरुष गरी कूल चार सय ५६ आरोहीले आरोहण अनुमति लिएका छन् ।
सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन् । आमादब्लममा दस समुहका एक सय दुई, ल्होत्सेमा नौ समूहका एक सय सात, मकालुमा आठ समूहका ७९, कञ्चनजङ्घामा सात समूहका ७५, नुस्सेमा छ समूहका ७६ र अन्नपूर्णमा छ समूहका ६६ आरोही छन् ।
वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । आरोहण अनुमति जारी रहेकाले अझै सङ्ख्या बढ्न सक्ने विभागको अनुमान छ ।

