२०८३, कार्तिक १३ गते शुक्रबार

बागवानीको लिची रु. २८ लाखमा ठेक्का

बागवानीको लिची रु. २८ लाखमा ठेक्का


  • मेरोभ्यूज
  • जेठ २०, २०८२ मंगलबार

  • बागवानीको लिची रु. २८ लाखमा ठेक्का

    सर्लाही । उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ । बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले रु. २८ लाख २५ हजारमा ठेक्का लगाएको हो ।

    केन्द्रले बागवानीमा रहेको लिची बिक्रीका लागि गत चैत २७ गते न्यूनतम रु. २५ लाख ५१ हजार बिक्री मूल्य राखेर सूचना प्रकाशित गरेको थियो । सूचनाअनुसार दर्ता हुन आएका निवेदनमध्ये हरिवन नगरपालिका–७ स्थित नर्वदा सप्लायर्सले उक्त मूल्यमा लिचीको ठेक्का सकारेको हो ।

    “यस पटक बागवानीको लिची अहिलेसम्मकै बढी मूल्यमा बिक्री गरेर राजस्व हासिल गर्न सफल भएका छौँ”, केन्द्रका प्रमुख रामकुमार यादवले भने, “पछिल्ला वर्षमा बागवानीको उत्पादनसँगै राजस्व पनि बढेको छ ।”

    बागवानी र ठेक्का प्रक्रिया दुवै व्यवस्थित हुँदा राजस्व बढेको उनको भनाइ छ । केन्द्रको ८.५ हेक्टर क्षेत्रफलमा छ सय २१ बोट लिचीखेती गरिएको छ । गत वर्ष रु. २७ लाख १५ हजारमा ठेक्का लागेको लिची, उत्पादन बढ्दा यस वर्ष ठेक्का मूल्य पनि बढेको उनले बताए । बागवानीमा नौवटा जातका लिची उत्पादन हुँदै आएका छन् ।

    यस्तै यहाँ उत्पादन भएको आँप ठेक्काका लागि केन्द्रले यही वैशाख १६ गते सूचना प्रकाशित गरेको छ । न्यूनतम बिक्री मूल्य रु. ७१ लाख ११ हजार कायम गरेर सूचना प्रकाशन गरिएको केन्द्रका प्रमुख यादवले जानकारी दिए । आँपको ठेक्का यही वैशाख ३१ गते खोलिने छ ।

    करिब एक सय बिघामा गरिएको आँपखेतीमा छ हजार रूख छन् । त्यसमध्ये बर्सेनी तीन हजार पाच सय बढी रूखले फल दिने गरेको छ । यहाँको आँप गत वर्ष रु. २१ लाखमा ठेक्का लागेको थियो ।

    बागवानी केन्द्रमा मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमलगायत जातको आँप उत्पादन हुने गरेको केन्द्रका प्रमुख यादवले जानकारी दिए ।

    ठेकेदार समूहले यहाँ उत्पादन भएको लिची, आँपलगायत फलफूल काठमाडौँ, हेटौँडा, चितवनसहित देशका मुख्य सहरसम्म लैजाने गरेका छन् ।


    प्रकाशित : मंगलबार, जेठ २० २०८२१०:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार