२०८३, कार्तिक १३ गते शुक्रबार

कुटानी–पिसानी मिलबाट करिब एक लाख आम्दानी

कुटानी–पिसानी मिलबाट करिब एक लाख आम्दानी


  • मेरोभ्यूज
  • जेठ १७, २०८२ शनिबार

  • कुटानी–पिसानी मिलबाट करिब एक लाख आम्दानी

    कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएको छ । मिल सञ्चालन गरेर उनले मासिक करिब रु. एक लाख भन्दा बढी आम्दानी गर्दै आएको हो ।

    सृजनशील बचत तथा ऋण सहकारी संस्थाबाट चौधरीले रु. वीस लाख ऋण लिएर मिल सञ्चालन गरेको जानकारी दिए ।

    मिलमा गहुँको पिठो बनाउने, तोरीको तेल निकाल्ने, धान कुटानी गरी चामल निकाल्ने उपकरण राखेका छन् ।

    “पटक-पटक गरी सहकारीबाट रु. वीस लाखजति ऋण लिएका हौँ”, उनले भने, “सहकारीबाट लिएको ऋणमध्ये रु. १८ लाख आम्दानीको रकमले तिर्न भ्याएका छौँ, अब रु. दुई लाख मात्रै बाँकी छ, त्यो पनि दुई तीन महिनामा चुक्ता गर्ने योजना छ ।”

    व्यवसाय गर्ने पैसा नहुँदा विगतमा खेतबारीमा दिन बिताउने गरेको उल्लेख गर्दै चौधरीले खेतबारीबाट उत्पादन हुने अन्नले खान मात्रै पुग्ने, खर्चका लागि अभाव हुने गरेको बताए ।

    सहकारीमा आबद्ध भएर ऋण लिएर मिल सञ्चालन गरेपछि पैसाको अभाव नभएको उनको भनाइ छ ।

    “महिनामा रु. एक लाख ५० हजार जति आम्दानी हुन्छ”, उनले भने, “मिलमा काम गर्ने कामदारको ज्याला, उपकरण मर्मत, विद्युतको महशुल खर्च कटौती गरी महिनामा रु. ७० हजारजति बचत हुने गरेको छ ।” बचत भएको रकम चौधरीले सहकारीमा जम्मा गर्दै आएको जानकारी दिए ।

    उनका अनुसार मिलको आम्दानी भएको रकमले उनले गाउँमा चार कट्ठा जग्गा खरिद गर्नुका साथै दुई छोराले धनगढीमा उच्च शिक्षा अध्ययन गराइरहेका छन् ।

    सीमा क्षेत्र नजिकै भएकाले मिलमा कुटानी–पिसानीका लागि भारतीय गाउँ टाटरगञ्जका नागरिक पनि आउने उनले जानकारी दिए ।

    दैनिक भारतीयको चार क्विन्टलजतिको गल्ला कुटानी–पिसानीको काम हुने गरेको चौधरीले बताए ।

    नेपाली र भारतीयको गरी दैनिक दस क्विन्टल गल्ला कुटानी–पिसानीको हुने गरेको छ । नजिक अरु कुटानी–पिसानीका मिल नहुँदा ग्राहकको घुइँचो लाग्ने गरेको उनको भनाइ छ ।

    “तोरीको तेल पेल्न, कुटानी–पिसानी गर्ने भारतीय अधिक आउने गरेका छन्”, चौधरीले भने, “भारतीय क्षेत्रमा रहेका मिलले लिने रकमभन्दा यहाँ सस्तो हुँदा उनीहरू यता आउँछन् ।” मिलमा ‘ब्रान’ छाडेमा कुनै शुल्क नलिएर धान कुटानी गरिदिने गरेको उनले बताए ।

    गहुँ पिसानी गरेको प्रतिकिलो रु. डेढ, मकैको रु. अढाइ, तोरीको तेल निकालेको रु. सात लिने गरेका जनाउँदै चौधरीले धान कुटानी गरेपछि आउने ब्रान र तोरीको तेल पेलेर निस्कने पिना(खली) बेचेर अतिरिक्त आम्दानी हुने बताए ।

    आम्दानी भएको रकम बचतमार्फत बजार क्षेत्रमा जग्गा खरिद गरी पक्की घर निर्माण गर्ने योजना रहेको उनले उल्लेख गरे । ग्राहकलाई चाहेकोबेला सेवा दिने भएकाले मिलमा ग्राहकको कमी नहुने उनको बुझाइ छ ।


    प्रकाशित : शनिबार, जेठ १७ २०८२०७:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार