२०८३, कार्तिक १३ गते शुक्रबार

गत आवको चौथो त्रैमासमा उद्योगको क्षमता ६४.८ प्रतिशतले उपयोग

गत आवको चौथो त्रैमासमा उद्योगको क्षमता ६४.८ प्रतिशतले उपयोग


  • मेरोभ्यूज
  • आश्विन १५, २०७८ शुक्रबार

  • गत आवको चौथो त्रैमासमा उद्योगको क्षमता ६४.८ प्रतिशतले उपयोग

    काठमाडौं । प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर नेपाल उद्योग परिसंघले पहिलो ‘औद्योगिक अवस्थिति प्रतिवेदन’ सार्वजनिक गरेको छ ।

    परिसंघले त्रैमासिक रुपमा सार्वजनिक गर्ने प्रतिवेदनको पहिलो अंक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले सार्वजनिक गरेका हुन् । 

    गत आवको चौथो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग, सेवा क्षेत्र, कृषि र ऊर्जा क्षेत्रका उद्योगको अवस्थाका विषयमा प्रतिवेदनमा विस्तृत तथ्यांक समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगहरुले कूल उत्पादन क्षमताको ६४.८ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ ।

    प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमासमा उद्योगको आय वृद्धिदर ८ रहेको बढेको देखाएको छ । 

    तर, त्यसअघिको वर्षको चौथो त्रैमासमा भने उद्योगको आय ४.७ प्रतिशतले ऋणात्मक थियो । प्रतिवेदनले व्यवसायको क्षमता उपयोगमा कोभिड–१९ को महामारीको प्रत्यक्ष असर परेको र यो अवस्था सुधारोन्मुख रहेको देखाएको छ । 

    अध्ययन भएको अवधिमा कृषि क्षेत्रका उद्योगले औषतमा ८.३ प्रतिशत, ऊर्जा क्षेत्रका उद्योगले औषतमा ७.४ प्रतिशत, उत्पादनमूलक उद्योगले औषतमा ७.७ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औषतमा ८.४ प्रतिशत ब्याज तिरेका छन् । 

    अध्ययनमा सहभागी भएकामध्ये ८३ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको बताएका छन् । यसैगरी ६९.७ प्रतिशत उद्योगहरुले जेनेरेटरबाट ऊर्जा उत्पादन गरी उद्योग सञ्चालन गरिरहेको अध्ययनले देखाएको छ । यसले उद्योगको उत्पादन लागत ४.९ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ । 

    कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा पौडेलले निजी क्षेत्रले गरेका यस्ता अध्ययनले अर्थतन्त्र कसरी सञ्चालन भइरहेको छ भन्ने यथार्थ विवरण प्रस्तुत गरेको बताए । 

    परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले यस प्रतिवेदन निजी क्षेत्रले थिंक ट्यांकको रुपमा कसरी काम गरिरहेको छ भन्ने देखाउने बताए । परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले औद्योगीकरणका लागि सरकारसँग हातेमालो गर्न परिसंघ सधैँ तयार रहेको बताए । 

    नेपालको औद्योगिक क्षेत्रको आवधिक तथ्यांक नभएको अवस्थामा परिसंघले पहिलोपटक यस्तो प्रतिवेदन तयार गरेको हो । परिसंघअन्तर्गतको रिसर्च सेलले उद्योगहरुसँगको सर्वेक्षणको आधारमा प्रतिवेदन तयार गरेको हो ।


    प्रकाशित : शुक्रबार, आश्विन १५ २०७८०४:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार