काठमाडौं । नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन र चीनतर्पmकोे निर्यात सहजीकरणका लागि दुवै तर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड ९सिसिपिआइटी० ले संयुक्त रुपमा चीनको बेइजिङमा आयोजना गरेको नेपाल–चीन विजनेस समिटमा दुवै तर्फका उच्च अधिकारी र निजी क्षेत्रका प्रतिनिधिले उक्त धारणा राखेका हुन् ।
द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकाले लगानीका लागि आग्रह गरे । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको उल्लेख गर्दै उनले दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए ।

प्रधानमन्त्री दाहालले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यबिना समृद्ध नहुनेमा जोड दिँद्यै उनले त्यसका लागि वातावरण बनाउने बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवर्द्धनमा सरकार सधैँ तत्पर रहेको बताए । महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकामा उनले सरहना पनि गरे ।
चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए ।
चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध निक्कै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताए । चीन नेपालमा सबैभन्दा बढि लगानीको प्रतिबद्धता जनाउने मुलुक हो । उनले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको र नेपालबाट बढिभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने उल्लेख गरे ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जना गर्न, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताए । नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने उनको भनाइ थियो ।
अध्यक्ष ढकालले जलविद्युत्, पर्यटन, उत्पादनमुलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रमा लगानी गर्न आग्रह गरे । “पछिल्लो समय पर्यटन पुर्वाधार जस्तै केवलकार, थिम पार्क रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको छ, नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य हो, चीन सरकारले पनि नेपाललाई प्राथमिकतामा राख्नुपर्छ”, उनले भने ।

सिसिपिआइटीका उपाध्यक्ष झाङ साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको उल्लेख गर्दै समिटले द्विपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्वपूर्ण हुने बताए । उनले सिसिपिआइटी नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरे ।

महासंघको वैदेशिक लगानी एवं अन्तराष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे प्रस्तुति गरेका थिए । समिटमा १२० चिनियाँ कम्पनीको सहभागिता रहेको थियो । नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारीसहित करिब ५० उद्यमी व्यवसायीले समिटमा सहभागिता जनाएका थिए ।
समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीको पनि सहभागिता थियो । उक्त समिटअघि ‘बिजनेस टु बिजनेस’ बैठक पनि राखिएको थियो । यसअघि, महासंघ र सिसिपिआइटीका पदाधिकारीबीच द्विपक्षीय छलफलसमेत भएको थियो ।

महासंघले पछिल्लो चार महिनामा देशबाहिर आयोजना गरेको यो दोस्रो समिट हो । यसअघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा महासंघले साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिजसँगको सहकार्यमा नेपाल–भारत बिजनेस समिट आयोजना गरेको थियो ।

