काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र बढी लाभयुक्त बनाउन सरकार लागिपरेको बताएका छन् । मन्त्रालयमा आज आयोजित विकास समस्या समाधान समितिको बैठकमा उनले विकसित मुलुकमा श्रम बजारको खोजी गरी सुरक्षित र लाभयुक्त वैदेशिक रोजगारीको अवसर वृद्धि गरिनुपर्ने बताए ।
वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकको माग र आवश्यकताअनुरुप नेपाली श्रमिकको सीप विकास गर्न सके विप्रेषण दोब्बरले बढाउन सकिने उनको भनाइ छ । नेपालको अर्थतन्त्र र जीविकामा निकै महत्व राख्ने विप्रेषण बढाउन प्रणालिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिक आपूर्तिको क्रममा रहेको लामो प्रक्रियाका कारण वैदेशिक रोजगारीलाई बढी लाभयुक्त बनाउन नसकिएको बताए ।
उनले मन्त्रालयअन्तर्गतका आयोजनाको भौतिक तथा वित्तीय प्रगतिमा सुधार गर्न गम्भीर भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले औपचारिक माध्यमबाट विप्रेषण भित्रयाउने र उत्पादनमूलक लगानीमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले नियमित अनुगमन, गुनासा सुनुवाई, उद्धार कार्यलाई प्रभावकारी बनाइएको बताए । सो क्रममा दोस्रो चौमासिकसम्म कल सेन्टर, हेलो सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका गुनासो तथा उजुरीमध्ये ९७.८ प्रतिशत फछर्यौट गरिएको र २.२ प्रतिशत फछर्यौटको प्रक्रियामा रहेको जानकारी दिइएको थियो ।

