कैलाली । धनगढी उपमहानगरपालिका-१४ फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानी गरी घरमा दुनाटपरी उद्योग सञ्चालन गर्दै आएकी छिन् ।
विगत सात वर्षदेखि रु. आठ लाखको लगानीमा उनले सानीडाँडा फूलबारी दुनाटपरी उद्योगबाट दुनाटपरी व्यवसाय गर्दै आएकी छिन् ।
शुरुमा सामूहिक लगानीमा सञ्चालित सो उद्योगबाट व्यवसाय गर्दै आएकी मगरले व्यवसाय फस्टाउँदै गएपछि व्यक्तिगत लगानीमा व्यवसाय विस्तार गरिन् ।
उनले भनिन्, “अनुदानसहित रु. एक लाख ५० हजार लगानीमा गाउँका वीस जना महिलासँगको साझेदारीमा दुनाटपरी उद्योग सञ्चालन गरेका थियौँ । पछि काम सिक्दै गए र आम्दानी मनग्य हुन थालेपछि एक्लैले व्यवसाय गर्दै आएकी हुँ ।”
राहदानी बनाएर विदेश जान तयार भएकी उद्यमी मगरले आर्थिक स्थितिका कारण वैदेशिक रोजगारको मोह त्यागेकी थिइन् ।
आफू स्वरोजगार हुनुका साथै उनले सोही ठाउँका पाँचजना स्थानीय महिलालाई रोजगारी पनि दिएकी छिन् । दुनाटपरी उद्योगबाट मासिक रु. दुई लाख ७० हजार बराबरको कारोबार हुने गरेको उनले बताइन् ।
दुनाटपरीका लागि चाहिने कच्चापदार्थ, कामदारको तलब, जीविकोपार्जनलगायत परिवारको सम्पूर्ण खर्च कटाएर मासिकरूपमा रु. ३५ हजार बचत हुने गरेको मगरले जानकारी दिइन् ।
“परिवारमा आफूसहित श्रीमान्, एक छोरी र एक छोरा छौँ । छोराछोरीको शिक्षादिक्षाको खर्च यही व्यवसायले धान्दै आएको छ”, उनले भनिन् ।
उद्यमी मगरले भनिन्, “शुरुमा आर्थिक स्थिति एकदम कमजोर थियो, खानलाउनसमेत धौधौ पर्दथ्यो । अहिले श्रीमान् वैदेशिक रोजगारीमा छन् । आफूले दुनाटपरी व्यवसाय समाल्दै आएकी छु । आर्थिक स्थिति सुध्रिएको छ । छोराछोरीलाई राम्रो स्कूलमा पढाएको छु ।”
दुनाटपरी उद्योग सञ्चालनका साथै स्थानीय महिलालाई उनले दुनाटपरीको तालिम दिने गरेकी छिन् । वडाबाट आएको कार्यक्रममार्फत स्थानीय महिलालाई तालिम दिएको उनले अनुभव सुनाइन् ।
धनगढी, अछाम, बर्दिया, हसुलियालगायत विभिन्न स्थानका ६० जनाभन्दा बढी महिलालाई आफूले दुनाटपरीसम्बन्धी तालिम दिएको उनले जानकारी दिइन् ।
मगरका अनुसार उद्योगबाट दिनमा तीन हजार दुना र तीन हजार टपरी उत्पादन हुँदै आएको छ । टपरी रु. चार र दुना रु. एकमा बिक्री हुने जनाउँदै उनले दुनाटपरी धनगढी, महेन्द्रनगर, झलारी, हसुलिया साथै पोखरामा समेत पठाउने गरेको बताइन् । सबैभन्दा बढी कारोबार पोखराका व्यवसायीसँग हुने गरेको उनको भनाइ छ ।
मगरले सुदूरपश्चिम प्रदेशबाट आफू उत्कृष्ट महिला उद्यमीका रूपमा छनोट भइ गत वर्ष सम्मानित भएको स्मरण गरिन् ।
उद्योगका लागि स्थानीय तथा प्रदेश सरकारबाट अनुदान प्राप्त भएमा व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उनले बताइन् ।

