काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)मा अलपत्र नेपालीका समस्या समाधान गर्न पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफूसँग भेटका लागि पुगेका नेपालका लागि युएईका राजदूत साइद्य हमदान अल नाकीसँग उक्त विषयमा छलफल गरे ।
मन्त्रालयमा आज भएको भेटमा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई गइ अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदुत साइदसँग आग्रह गरेको मन्त्रालयले जनाएको छ ।
अनधिकृत रुपमा मेनपावर कम्पनी, कन्सल्ट्याान्सी, ट्राभल्स संचालक, बिचौलिया तथा लामो समयदेखि युएईमा विभिन्न व्यवसाय गरेर बसेका नेपालीहरुले नै नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने प्रवृति देखिएको भन्दै मन्त्री श्रेष्ठले उनीहरुलाई कानूनी दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा गरेका थिए ।
उनले रोजगारी पाउने आशामा भिजिट भिसामा युएई गई अलपत्र परेकाको समस्याको स्थायी समाधान नहुन्जेल त्यहीँ रोजगारीको अवसरका लागि सहयोग गर्न आग्रह गरे । अलपत्र परेका नेपालीहरुको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानूनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफीको लागि पनि मन्त्री श्रेष्ठले अनुरोध गरेका थिए ।
राजदुत साइदले युएई गई समस्यामा परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ । उनले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने बताए ।

