२०८३, कार्तिक १३ गते शुक्रबार

केयरगिभरका लागि ९९ नेपाली श्रमिक इजरायल उडे

केयरगिभरका लागि ९९ नेपाली श्रमिक इजरायल उडे


  • मेरोभ्यूज
  • माघ ५, २०७८ बुधबार

  • केयरगिभरका लागि ९९ नेपाली श्रमिक इजरायल उडे

    काठमाडौं । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् ।

    इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन् । यसपछि यही माघ १५ र १६ गते दुई उडानमार्फत थप श्रमिक इजरायल जानेछन् । वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । 

    छनोटमा परेका एक हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । नेपाली श्रमिकले इजरायलमा मासिक करिब रु दुई लाख पारिश्रमिक पाउनेछन् । उनीहरुले इजरायली श्रमिकसरहको पारिश्रमिक, बिदा र स्वास्थ्योपचार सुविधा प्राप्त गर्ने काठमाडौँस्थित इजरायली दूतावासले जनाएको छ । 

    इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोदारले बिदाइ गरे । 

    पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकलाई शुभकामना दिँदै मन्त्री श्रेष्ठले  नेपालको प्रतिष्ठा उँचो पार्ने गरी अनुशासित भएर काम गर्न आग्रह गरे । सो अवसरमा नेपालका लागि इजरायली राजदूत गोदारले नेपाली श्रमिकले नेपाली परिवार र इजरायली परिवारबीच सेतुका रुपमा भूमिका निर्वाह गर्ने बताए । दूतावासले इजरायल प्रस्थान गरेका नेपाली श्रमिकको इजरायल बसाई फलदायी रहोस् भनी कामनासमेत गरेको छ । 


    प्रकाशित : बुधबार, माघ ५ २०७८१०:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार