२०८३, कार्तिक १३ गते शुक्रबार

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी


  • मेरोभ्यूज
  • श्रावण २७, २०८२ मंगलबार

  • मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

     

    दाङ । यहाँको एक कृषि सहकारीले मेवाखेतीबाट राम्रो आम्दानी गर्दै आएको छ ।

    घोराही उपमहानगरपालिका-४ गोग्लीमा रहेको बलिदान कृषि सहकारी संस्थाले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको छ ।

    सहकारीले नौ कट्ठा जग्गा भाडामा लिएर विगत तीन वर्षअघि देखि व्यावसायिक रुपमा रेड लेडी जातको मेवाखेती शुरु गरेका थिए । उक्त जग्गाको वार्षिक रु. ३६ हजार भाडा तिर्ने गरिएको सहकारीका व्यवस्थापक स्यानु चौधरीले बताए ।

    सहकारीले हालसम्म मेवाका बिरुवा बिक्रीबाट रु. ५० हजार र पाकेको फल बिक्री गरेर रु. दुई लाख आम्दानी गर्न सफल भएको सहकारीका व्यवस्थापक चौधरीले बताए । मेवा बिक्रीबाट आएको मुनाफालाई शेयर सदस्यलाई दिने गरिएको उनी बताउँछन् ।

    शुरुमा दस पोकाबाट मेवाका बिरुवा उत्पादन गरिएको थियो । त्यसमा दुई सय ५० बिरुवा सहकारीबाट लगाइएको उनको भनाइ छ । एक पोका बीउलाई रु. आठ हजार पाच सय पर्ने गरेको उनी बताउँछन् ।

    प्रत्येक पोकाबाट चार सय बिरुवा उत्पादन हुने गरेको उनीसँग अनुभव रहेको छ । मेवाको बिरुवा पाँचभन्दा बढी लैजानेलाई रु. एक सयका दरले र त्योभन्दा कम लैजानलाई रु. एक सय ५० का दरले बिक्री गर्ने गरेको संस्थाका व्यवस्थापक चौधरीले बताए ।

    मेवाको फल र बिरुवा पनि राम्रौ बिक्री हुने गरेको जानकारी दिंदै सहकारी संस्थामार्फत आम्दानी गर्न पाउँदा सबै शेयर सदस्य खुसी भएको उनले बताए ।

    कुनै पनि आयआर्जन हुने काममा जोडिएपछि आम्दानी बढ्दै जाने उनको भनाइ छ । भोलिका दिन व्यवसायलाई अझ बढाउँदै लैजाने उनले बताए ।

    यसअघि ‘रेमिट्यान्स’ सेवामार्फत आम्दानी गर्दै आएको सहकारीले नयाँ सहकारी ऐनमा कृषि सहकारीले उक्त सेवा सञ्चालन गर्न नपाउने भएपछि आम्दानीका अन्य उपाय खोज्न थालेका थिए ।

    सोही क्रममा सहकारीले धान खरिद गरी चामल बिक्रीबाट पनि गत वर्ष रु. डेढ लाख आम्दानी गरेका थिए । तीन सय ५० सदस्य रहेको बलिदान कृषि सहकारीको रु. डेढ करोड पूँजी रहेको छ ।


    प्रकाशित : मंगलबार, श्रावण २७ २०८२११:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार