म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको मणिबराही युवा क्लबले मेला सञ्चालन गरेर बचत भएको रु. २० लाखभन्दा बढी रकम पर्यटन विकासमा परिचालन गरेको छ ।
विक्रम संवत २०८१ र २०८२ मा क्लबले दसैँ पर्वको अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानी पर्यटन पूर्वाधार निर्माणमा लगानी गरिएको हो ।
क्लबका सचिव विकास पुनले पछिल्लो दुई वर्षमा क्लबमार्फत दोवाको पर्यटन, भौतिक पूर्वाधार र सामाजिक कामका लागि रु. २० लाख सात हजार सात सय दस खर्च भएको जानकारी दिए ।
“दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्गको पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि क्लबले दुई वर्षमा सबैभन्दा बढी रु. सात लाख ५८ हजार दुई सय ५० खर्च गरेका छौँ”, उनले भने, “क्लबसँग हाल रु. ५ लाख ४९ हजार नौ सय ३७ बचत रहेको छ ।”
वि.सं. २०८१ मा रु. १५ लाख १९ हजार आम्दानी भएकोमा रु. १२ लाख २२ हजार दुई सय ५० र २०८२ मा रु. दस लाख ३८ हजार छ सय ४७ आम्दानी भएकोमा रु. सात लाख ८५ हजार चार सय ६० खर्च भएको छ ।
पर्यटकीयस्थल सुर्केमेलामा रु. तीन लाख ८१ हजार खर्चेर खानेपानीको व्यवस्था मिलाएको क्लबले दोवाको प्रवेशद्वार भीरकाटेस्थिल सडक पुलमा रु. एक लाख तीन हजार खर्चेर सूचनामूलक बोर्ड राखेको सचिव पुनले बताए ।
रु. दुई लाख ७४ हजार खर्चेर दोवाका विभिन्न पर्यटकीयस्थलमा राख्नका लागि ४१ वटा सूचना बोर्ड तयार पारिएको छ ।
दोवा पोखरा समाजको भवन निर्माण तथा जग्गा खरिदका लागि रु. सात लाख सहयोग गरेको क्लबले रु. चार लाख १९ हजार खर्चेर आफ्नै भवन मर्मत गरेको अध्यक्ष ठबहादुर गर्बुजाले बताए । यस वर्ष क्लबको नाममा जग्गा खरिद अन्तिम चरणमा रहेको छ ।
दोवादेखि पातलखर्क, गरेकखर्क, देउरालीडाडा, ठूलोखानी, धैरासिर, गुराँसिनीखोला, भिराउटो, सुर्केमेला र हल्टुडे क्षेत्रमा पदमार्ग निर्माणका लागि गत आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित योजनामा क्लबले योगदान गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाले रु. दस लाख बजेट विनियोजन गरेको यस योजनाका लागि क्लबले रु. चार लाख २५ हजार सात सय ६५ सहयोग गरेको र रु. एक लाख २४ हजार बराबरको श्रमदान भएको सचिव पुनले बताए ।
“दोवामा पर्यटक भित्र्याउने र बसाइ लम्ब्याई ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माणमा जुटेका हौँ”, उनले भने, “सोवाङ धुरी र धौलागिरि आइसफललाई दोवासँग जोड्ने उद्देश्यले थालिएको पदमार्ग निर्माण कार्यलाई निरन्तरता दिन आवश्यक छ ।”

