२०८३, कार्तिक १३ गते शुक्रबार

‘आमा समूहसँग उपमेयर’ महिलालाई सीपमूलक तालिम

‘आमा समूहसँग उपमेयर’ महिलालाई सीपमूलक तालिम


  • मेरोभ्यूज
  • आषाढ १०, २०८२ मंगलबार

  • ‘आमा समूहसँग उपमेयर’ महिलालाई सीपमूलक तालिम

    म्याग्दी । बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत वडा नं. १ रत्नेचौरका महिलाहरूलाई बाँसका सामग्री बनाउने तालिम प्रदान गरिएको छ ।

    महिलालाई आयआर्जनमूलक व्यवसायमा आबद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन भएको कार्यक्रममार्फत १६ जना महिलाहरूलाई बाँसबाट सजावटका सामग्री र मुडा बुन्ने १५ दिने तालिम दिइएको हो ।

    बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले रत्नेचौर र अर्जममा थप ७० जना महिलालाई व्यवसायिक च्याउखेतीसम्बन्धी तालिम दिने, बीउ र प्लास्टिक घर सहयोग गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

    तालिममा सहभागी यामु थापाले बाँस र चोयाबाट मुडाका साथै स्ट्रे, फूलदानी, प्रमाणपत्र राख्ने फ्रेम, चुरादानी, कलम र ब्रसदानी बनाउन सिकेको बताए । व्यावसायिक रूपमा सामान उत्पादन गरेर प्रशस्त मात्रामा पाइने बाँसको प्रयोग र सीपको सदुपयोग गर्ने योजना रहेको थापाले बताइन ।

    समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न गराउन यस वर्ष बेनी नगरपालिकाले रत्नेचौर र वडा नं. ५ पुलाचौरमा कार्यक्रम सञ्चालन गरेको छ ।

    “महिला आर्थिकरूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भइ समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौँ”, उनले भने, “आर्थिक वर्ष २०७९/०८० देखि सुरू भएको चालु आर्थिक वर्षमा रु. वीस लाख बजेट विनियोजन भएको छ ।”

    पुलाचौर आमा समूहमार्फत सेतोढुङ्गा, पुलाचौर, नयाँगाउँ र डडुवामा एक सय २५ जनालाई च्याउखेती, एक सय ३२ जनालाई धुप बनाउने र १७ जनालाई सिलाइकटाइ तालिम प्रदान गरिएको छ ।

    च्याउखेती र धुप बनाउने समूहलाई दुई/दुई दिन तालिम, बीउ, एक/एक वटा टनेल सहयोग गरिएको छ । तीन महिने सिलाइकटाइ तालिममा सहभागीलाई उपकरण पनि सहयोग गरिएको छ ।


    प्रकाशित : मंगलबार, आषाढ १० २०८२१०:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार