२०८३, कार्तिक १२ गते बिहीबार

ई–रिक्सा चलाएर आत्मनिर्भर

ई–रिक्सा चलाएर आत्मनिर्भर


  • मेरोभ्यूज
  • आषाढ ४, २०८२ बुधबार

  • ई–रिक्सा चलाएर आत्मनिर्भर

    कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमति महराले विद्युतीय ई–रिक्सा चलाएर परिवारको खर्च धान्दै आएकी छिन् । ई–रिक्सा चलाएर उनले मासिक रु. ३५ हजार बढी आम्दानी गर्छिन ।

    घरको आर्थिक अवस्था कमजोर हुँदा गाउँकै समूहबाट रु. दुई लाख ऋण लिएर ई–रिक्सा खरिद गरी चलाउन थालेकी हुन् । समूहबाट लिएको ऋण महराले पाँच महिनामै चुक्ता गरेकी छिन् । ई–रिक्सा चलाएर हुने आम्दानीले एक छोरा, एक छोरीको विद्यालयको मासिक शुःल्क, घर खर्च सबै धान्दै आएकी छिन् ।

    कक्षा १२ सम्म पढेकी महराले घरको आर्थिक अवस्था कमजोर हुँदा निजी विद्यालयमा शिक्षिकाको काम पनि गरिन् । “त्यसबाट घर खर्च चलाउन धौ-धौ हुनथालेपछि केही महिना लघुवित्तमा र केही महिना बिमा अभिकर्ता बनेर काम गरेँ”, उनले भनिन्, “दुवै क्षेत्रबाट पाइने तलबले चित्त बुझेन ।”

    झलारीलगायतका बजार क्षेत्रमा पुरुषले मात्रै अटो र ई–रिक्सा चलाउथे । “पुरुषजस्तै मैले पनि ई–रिक्सा चलाउने निधो गरेँ । समूहमा पैसा बचत गर्दथेँ, त्यहाँबाट ऋण लिएर रिक्सा चलाउन सिकेँ”, उनले भनिन्, “ई–रिक्सा खरिद गररे चलाउन थालेपछि महिलाले पनि रिक्सा चलाउने भनेर कुरा काट्थे, चढ्न हिचकिचाउँथे, केहीले भने हौसाला दिन्थे ।”

    दुई/तीन महिना थोरै यात्रु चढे । त्यतिबेला निकै तनाव भयो उनलाई । यात्रुलाई सुरक्षितरूपमा तोकिएको रकम र गन्तव्यमा पुर्याउन थालेपछि यात्रुको सङ्ख्या बिस्तारै बढन थालेको उनले बताइन् । अहिले महिला/पुरुष सबै जना चढ्ने गरेको उनी बताउँछिन ।

    यात्रु कम भएका बेला दिनमा रु. एक हजार जति र बढी भएका बेला रु. दुई हजार पाच सयसम्म कमाइ हुने गरेको उनले बताइन् । उनका श्रीमानले पनि ऋण निकालेर अटो रिक्सा खरिद गरी चलाउन थालेको छ । दुवै जनाले कमाइ गर्न थालेपछि परिवारको खर्च धान्न सहज भएको छ ।

    धनमतिजस्तै शुक्लाफाँटा नगरपालिका–११ दीपनगरकी २८ वर्षीया अनिता कुवँरले पनि दुई वर्षदेखि ई–रिक्सा चलाउदै आएको छ । कक्षा १२ सम्म अध्ययन गरेकी कुवँरको आर्थिक अवस्था कमजोर थियो । साँझ बिहानको छाक टार्न धौ-धौ हुने गरेको थियो । श्रीमानले ढुवानीका साधन चलाउँथे । त्यसबाट घर खर्च चलाउन सक्ने अवस्था थिएन ।

    “घर परिवारकै सहमतिमा सहकारीबाट ऋण निकाल्ने निधो गरेँ”, उनले भनिन्, “रु. दुई लाख ऋण लिएर, त्यसैबाट ई–रिक्सा खरिद गरेँ, केही दिन सिक्नमै लाग्यो, सिकेपछि चलाउन थालेँ ।” ई–रिक्सा चलाउन थालेपछि सामान्य खर्चको अभाव नभएको उनी बताउँछिन ।

    “ई–रिक्सा चलाउन थालेपछि पैसाका लागि श्रीमानको भर पर्नु परेको छैन”, उनले भनिन्, “कमाइ गरेर आएको रकम श्रीमानलाई उल्टै खर्च दिने गरेको छु ।”

    सहकारीमा दैनिक रकम बचत गर्न थालेकाले त्यस रकमबाट घर निर्माण गर्ने उनको योजना छ । उनले मासिक रु. ३० हजारदेखि रु. ३५ हजार कमाइ गर्दै आएकी छिन् । यी दुवै महिलालाई देखेर झलारी बजारमा अन्य महिला पनि ई–रिक्सा खरिद गरी चलाउन थालेका छन् ।

    पछिल्लो एक वर्षमा ई–रिक्साप्रति महिलाको आकर्षण बढेको झलारी बजारका व्यवसायी ललितबहादुर हमालले बताए । झलारी बजारमा मात्रै छ जना बढी महिला ई–रिक्सा चलाएर जीविका चलाउँदै आएका छन् ।


    प्रकाशित : बुधबार, आषाढ ४ २०८२०९:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार