२०८३, कार्तिक १२ गते बिहीबार

झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय

झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय


  • मेरोभ्यूज
  • बैशाख १८, २०८२ बिहीबार

  • झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय

    नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) सुस्ता गाउँपालिका-५ पक्लिहवास्थित नारायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीय स्वरोजगार बन्दै गएका छन् ।

    एक वर्षअघि यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयले विभिन्न किसिमका पसलमार्फत रोजगारीका अवसर सिर्जना गर्न थालेका हुन् ।

    यहाँ निर्मित झोलुङ्गे पुल हेर्न जिल्लाका साथै भारतबाट पनि पर्यटक आउन थालेपछि स्थानीयद्वारा सञ्चालित पसलमा व्यापार बढ्न थालेको सुस्ता-५ का वडाध्यक्ष प्रभुनाथ यादवले बताए ।

    “यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएको एक वर्ष भएको छ । हालसम्म होमस्टे (घारबास) तथा व्यवस्थित सवारी पार्किङस्थल बनाउन सकेका छैनौँ । स्थानीयले स-साना पसल सञ्चालन गरी स्वरोजगार बन्दै गएका छन् । यसले स्थानीयको आर्थिकस्तर सुधार हुँदै गएको छ”, उनले भने ।

    वडाध्यक्ष यादवले आन्तरिक तथा छिमेकीमूलुक भारतको बिहार, उत्तर प्रदेशलगायत क्षेत्रबाट र न्यून सङ्ख्यामा अन्य मुलुकबाट पर्यटक यहाँ आउन थालेका बताए ।

    दैनिकी एक हजार भन्दा बढी पर्यटक झोलुङ्गे पुल अवलोकन आउन थालेका जनाउँदै उनले स्वरोजगार बनेसँगै स्थानीयको दैनिकी फेरिन थालेको उल्लेख गरे ।

    सुस्तामा झोलुङ्गे पुल निर्माणपछि यो क्षेत्र थप आकर्षित हुनुका साथै पर्यटकीय गतिविधि चलायमान बन्दै गएको गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए ।

    हाल स-साना पसल सञ्चालनमार्फत स्थानीयले आम्दानी गरिरहेकाले आगामी दिनमा घरबास सञ्चालन गरी पर्यटकलाई बस्न, खान सहज व्यवस्थापनसहित रोजगारीका नयाँ अवसर सिर्जना गर्ने योजना पालिकाले बनाएको उनको भनाइ छ ।

    पश्चिम नवलपरासी तराई–मधेस क्षेत्रमा पर्ने भएकाले भारतबाट नेपाल आउने पर्यटकका लागि यो आकर्षक गन्तव्य बन्न सक्ने अध्यक्ष उपाध्यायले धारणा राखे ।

    पुलको पूर्व र पश्चिमतर्फ मिठाइका परिकार, खाजा तथा चिया पसल, नदीबाट माछा मारेर ताजा परिकार पकाउने स्टल, व्यवस्थित सवारी पार्किङलगायत व्यवस्था गरेर रोजगारीका अवसर थप्दै जाने उनले बताए ।

    “झोलुङ्गे पुल निर्माण भएपछि सुस्तासहित आसपासका स्थानीय मोटरसाइकलबाट सहजै नारायणी नदी भएर आवागमन गर्न पाएपछि खुसी भएका छन् । पुल हेर्न आउने पर्यटकको सङ्ख्या पनि वृद्धि हुँदै गएको छ”, प्रतापपुर गाउँपालिकाका स्थानीय खुरसेद हजामले भने ।

    एक वर्षअघि रु. २३ करोड ६५ लाख ९८ हजार आठ सय ७ लागतमा एक हजार पाच सय ७१ मिटर लामो उक्त पुल निर्माण भएको थियो ।


    प्रकाशित : बिहीबार , बैशाख १८ २०८२०८:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार