२०८३, कार्तिक १३ गते शुक्रबार

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी


  • मेरोभ्यूज
  • आश्विन २९, २०८१ मंगलबार

  • खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी

    गलेश्वर, म्याग्दी । पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका-२ को खबरा गाउँ ।

    केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैँचाले मनोहर छ ।

    करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ ।

    यहाँ बसोबास गर्ने प्रत्येक परिवारले पाखोबारी,खरबारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिक रुपमा केराखेती गरेका स्थानीय कृषक नारायण सापकोटा बताउँछ । गाउँभर केराखेती गरिएको छ ।

    केरा बिक्री गरेर वार्षिक रु दुई करोड बढी रकम भित्रिने गरेको उनले बताए । विसं २०५७ मा खबरामा पहिलोपटक केराखेतीको थालिएको स्थानीय जगत् घिमिरे बताउँछन् ।

    पोखराबाट हजारी जातको केराका तीनवटा बिरुवा ल्याएर खबरामा लगाएसँगै व्यावसायिक रूपमा केराखेती प्रारम्भ भएको हो । “खबरामा केरा खेतीको सुरुवात भएको २७ वर्ष भयो ।

    तीनवटा केराका बिरुवा लगाएर सुरु भएको केराखेती अहिले पाँच सय रोपनी भन्दा बढी जग्गामा फैलिएको छ । गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’ बाट ‘केरा गाउँ’ भनेर चिनिन थालेको छ ।” खबराका तेजेन्द्रबहादुर कार्कीले २३ रोपनी बाँझो जमिनमा केराखेती गरेको छ ।

    वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने अभियानमा लागेका कृषक कार्कीले भिरालो र खोल्साखोल्सीको झाडी फँडानी गरी धमाधम केरा लगाउनु हुन्छ । कृषक कार्कीले केरा बिक्री गरेर वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको बताए ।

    “भिरालो जमिनमा मल, जल नअडिने, बाली लगाउन समस्या भएर बारीहरू बाँझै छाड्ने गरेका थियौँ तर, केही वर्षयता सोही जमिनलाई उपयोग गरेर केराखेती सुरु गरेपछि अहिले गाउँ नै केराखेतीले भरिएको छ ।

    केराको हरियालीले गाउँ आकर्षक देखिएको छ भने स्थानीयको आम्दानीको मुख्य स्रोत पनि केराखेती नै बनेको छ” कृषक कार्कीले भने ।

    स्थानीय यामबहादुर घिमिरे, जगत् घिमिरे, प्रेम कुँवर, चन्द्रबहादुर कार्की, शोभित शर्मा, तेजेन्द्र कार्कीलगायत २० जना कृषकले व्यावसायिक रूपमा केराखेती गरेको छ । केरा खेती फस्टाउँदै मुख्य आम्दानीको स्रोत बन्न थालेपछि स्थानीय अन्य अन्नबालीलाई विस्तार घटाउँदै केराखेतीमै केन्द्रित हुन थालेको कृषक कार्कीको भनाइ छ ।

    “बाँझो जमिनमा केरा नलगाएको घर नै छैन,” अर्का कृषक जगत्बहादुर घिमिरेले भने । खबराका किसानले केरा बिक्री गरेर वार्षिक रूपमा न्यूनतम रु ३० हजारदेखि रु १० लाखसम्मआम्दानी गर्दै आएका बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए ।

    अनुकूल हावापानी, उपयुक्त वातावरण, बजारको सुविधा र पर्याप्त आम्दानी हुने भएकाले व्यावसायिक केराखेतीतर्फ यहाँका किसानहरुको आकर्षण बढेको उनले बताए । खबरामा बाइस नङ्ग्रे, मालढुङ्गे, ध्रुसे, चिनीलगायत प्रजातिका केराखेती हुने गरेको छ ।


    प्रकाशित : मंगलबार, आश्विन २९ २०८१११:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार