गाेरखा । गोरखाको भीमसेनथापा गाउँपालिकाले पालिकाबाटै वैदेशिक रोजगारी जान चाहानेहका लागि श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ । पालिकाले रोजगार सेवाकेन्द्र मार्फत श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।
गाउँपालिकाले वडा नं ५ स्थित बगुवाका दिनेश परियारलाई पहिलो पटक श्रम स्वीकृति प्रदान गरेर पालिकाबाट सेवा प्रारम्भ गरेको हो । वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका उनलाई पालिकाको रोजगार सेवाकेन्द्र मार्फत श्रम स्वीकृति प्रदान गरिएको हाे ।
सेवाको थालनी गरेसँगै अबदेखि वैदेशिक रोजगारमा जान चाहानेले पालिकाबाट श्रम स्वीकृति प्राप्त गर्नेछन् । वैदेशिक रोजगारीलाई थप मर्यादित, सुरक्षित भरपर्दो, पारदर्शी तथा सहज बनाउन र सेवाग्राहीलाई आफ्नो स्थानीय तहबाट सेवा प्रदान गर्ने उद्देश्य अनुरुप व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्यको सुरुवात गरेको अध्यक्ष बन्जराले बताए ।
स्थानीय पालिकाबाट नै व्यक्तिगत श्रम स्वीकृति प्राप्त गरेका परियारले स्थानीय तहबाट श्रम स्वीकृति पाउदा खुशी लागेको बताए । यसअघि श्रम स्वीकृतिका लागि काठमाडाैं धाउनुपर्ने बाध्यता रहँदै आएको थियो । श्रम स्वीकृतिका लागि काठमाडाैंसम्म पुग्नुपर्दा समयसँगै पैसा समेत बढी खर्च गर्नपर्ने अवस्था रहेपनि अव सहज भएको परियारको भना छ ।
श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसा सम्बन्धी कागजात लिएर कार्यालयमा सम्पर्क गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले स्वीकृतिका लागि आवश्यक सहजीकरण गरी श्रम स्वीकृति प्रदान गर्ने अध्यक्ष बन्जराले बताए ।

