२०८३, कार्तिक १३ गते शुक्रबार

चितवनबाट पनि स्मार्ट लाइसेन्स नवीकरण हुने

चितवनबाट पनि स्मार्ट लाइसेन्स नवीकरण हुने


  • मेरोभ्यूज
  • मंसिर १८, २०७८ शनिबार

  • चितवनबाट पनि स्मार्ट लाइसेन्स नवीकरण हुने

    काठमाडाैं । चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नेछन् ।

    अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिए । यातायात कार्यालयमा भीडभाड नहोस् भन्नका लागि सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत अनलाइन टोकन प्रणाली लागू गरिएको छ ।

    चितवन यातायात डट बागमती डट जिओभी डट एनपी मा लगइन गरी आफ्नो विवरण भरेर टोकन लिन सकिने जनाइएको छ । सोही टोकन र समयका आधारमा सेवा लिन सकिने कार्यालय प्रमुख पौडेलले जानकारी दिए । कार्यालय प्रमुख पौडेलले छिट्टै पुरानो प्रकारका लाइसेन्सको पनि नवीकरण सुरु गर्ने बताए ।

    अहिले प्राविधिक समस्याका कारण स्मार्ट लाइसेन्स मात्रै नवीकरण थालिएको उनले बताए । यस्तै आउँदो तीन/चार महिनाभित्रमा नयाँ लाइसेन्ससमेत जारी गर्ने तयारी भइरहेको उनले जानकारी दिए । चितवनमा विसंं २०५१ देखि पटके कार्यालयको रुपमा यातायात सेवा कार्यालयको स्थापना भएको थियो ।

    त्यतिबेला अस्थायी रुट इजाजत मात्रै दिने गरिएको थियो । सोही बेला सातामा एकदिन मात्रै वीरगञ्जबाट एक जना अधिकृत र एक जना मेकानिकल सुपरभाइजर आएर जाँचपास गर्ने व्यवस्था थियो । विसं २०६२ मा सेवा विस्तार भएर वीरगञ्ज कार्यालयको शाखाको रुपमा स्थापित यस कार्यालयबाट बाटो इजाजत, नियमित जाँचपास, कर जरिवाना, अस्थायी रुट इजाजतसम्बन्धी काम थपिएको थियो ।

    विसं २०७१ साउन ३० गतेबाट स्थायी कर्मचारीको दरबन्दीसहित कार्यालयको कामलाई चुस्तदुरुस्त बनाउने प्रयास थालिएको थियो । विसं २०७५ देखि सङ्घीयता लागू भएपछि बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेर यस कार्यालयलाई अघि बढाइयो ।

    त्यति बेलासम्म सवारी साधनको बिलबुक नवीकरण र कर तिर्ने, रुट इजाजत लिने, पटकेलगायतका सेवा सञ्चालन भएको थियो । विसं २०७७ वैशाख ६ गते सवारी साधन दर्तासमेत विस्तार गर्ने निर्णयबमोजिम २०७८ साउन २८ गतेबाट सवारी साधन दर्ताको प्रक्रिया सुरु भएको छ ।

    भदौ ३ गते सवारी चालक अनुमतिपत्रको समेत कार्य गर्ने गरी मन्त्रालयले कार्यादेश दिएको थियो । त्यसपश्चात् यही मङ्सिर ५ गतेबाट सवारी चालक अनुमतिपत्र नवीकरण ट्रायलको रुपमा सुरुआत गरिएको थियो ।


    प्रकाशित : शनिबार, मंसिर १८ २०७८१०:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार