काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले बताएको छ ।
एनपीएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तरराष्ट्रियस्तरमा नेपालको पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
उद्घाटनमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकूदको उज्ज्वल भविष्य दर्शाएको उल्लेख गर्दै उनले भने, “खेलप्रेमीहरूको अपार समर्थनले खेल क्षेत्रको बढ्दो सम्भावना र भविष्यप्रति ठूलो आशा जगाएको छ । यो आकर्षणलाई नेपाली खेल क्षेत्रको विकास र अन्तरराष्ट्रिय पहिचानसँग जोड्ने बलियो आधारका रूपमा लिएको छु ।”
प्रतियोगिताका लागि नेपाल आएका विदेशी खेलाडी, कमेन्टेटर तथा अतिथिहरूलाई स्वागत गर्दै मन्त्री पोखरेलले उनीहरूले नेपाली क्रिकेटका साथै यहाँको संस्कृति, प्राकृतिक सुन्दरता र आतिथ्यताको अविस्मरणीय अनुभव लैजाने अपेक्षा रहेको बताए ।
साथै, उनले प्रतियोगितामा सहभागी सम्पूर्ण टोली तथा खेलाडीहरूलाई उत्कृष्ट र रोमाञ्चक प्रदर्शनका लागि शुभकामनासमेत दिएको छ ।

