भोजपुर । पशुपालनमार्फत किसानलाई आत्मनिर्भर बनाउँदै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘गाई–भैंसी पकेट विकास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
विगतका वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमलाई निरन्तरता दिँदै गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम अघि बढाएको हो ।
गाउँपालिकाको रु. २५ लाख र किसानको रु. २५ लाख लागत साझेदारी गरी कुल रु. ५० लाख बराबरको बजेटमा यो कार्यक्रम सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।
उनका अनुसार किसानका मागका आधारमा उन्नत जातका गाई तथा भैँसी वितरण गरिनेछ ।
गत आर्थिक वर्षमा पनि यहाँका किसानलाई ३९ वटा उन्नत जातका गाई वितरण गरिएका थिए । यस वर्ष पनि इच्छुक समूह तथा फार्महरूका लागि सूचना जारी भइसकेको बताए ।
गाउँपालिकाका अध्यक्ष किरण राईले किसानलाई पशुपालनमार्फत आर्थिकरूपमा सबल बनाउनुका साथै पोषण सुरक्षामासमेत टेवा पुर्याउने लक्ष्यका साथ कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
“विगतका वर्षदेखि नै किसानलाई उन्नत जातको गाईभैँसी वितरणको कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, अध्यक्ष राईले भने, “यो वर्ष पनि किसानलाई गाईभैँसी वितरणको तयारी गरेका छौँ ।”
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले महिला विकास बोर्डअन्तर्गत ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत पशुपालन तथा कृषिका क्षेत्रमा अनुदानका कार्यक्रम सञ्चालन भइरहेको बताए ।
सो कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम परियोजना कार्यान्वयन म्यानुअल २०७७ (पहिलो संशोधन २०८१)को स्वीकृत मापदण्डअनुसार सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा कृषि-पशु समूह, समिति, सहकारी, वन उपभोक्ता समिति तथा दर्तावाला कृषि तथा पशुपालन फार्मले प्रस्ताव दर्ता गर्न सक्नेछन् ।

