बैतडी । यहाँको पाटन नगरपालिका–१० हतासका मदनराज भट्टको मुख्य आम्दानीको स्रोत बनेको छ, फलफूल र तरकारी खेती ।
घरका लागि मात्रै तरकारी उत्पादन गर्दै आएका भट्ट एक दशकयता व्यावसायिक रूपमा सक्रिय छन् ।
उत्पादन राम्रो हुने र बजारको समस्या नभएकाले भट्ट परिवार नै पूर्णरूपमा कृषि पेसामा आबद्ध छन् ।
“श्रीमती र दुई छोरासहित व्यावसायिक कृषि पेसामा आबद्ध छौँ”, भट्टले भने, “व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी हुँदा खुसी छौँ ।”
विक्रम संवत २०७२ देखि व्यावसायिकरूपमा शुरु गरेको भेडेखुर्सानी खेती अहिले विस्तार भएर १६ रोपनी क्षेत्रफलमा पुगेको छ ।
“बजारको विस्तार भएसँगै भेडेखुर्सानी खेती व्यावसायिकरूपमा गरिरहेका छौँ”, उनले भने ।
बजारमा उचित मूल्य पाएको वर्ष भेडेखुर्सानीबाट मात्रै रु. आठ लाखसम्म आम्दानी हुने गरेको भट्टले बताए ।
आधुनिक कृषि प्रविधि, विशेषगरी मल्चिङ प्रविधि तथा कृषि उपकरणको प्रयोगले उत्पादनसँगै आम्दानी बढ्दै गएको उनको अनुभव छ ।
“कृषिलाई परम्परागतरूपमा मात्र नभइ व्यवसायका रूपमा अघि बढाउन सके राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने, “बीउबिजन, ढुवानीलगायत अन्य खर्च कटाएर भेडेखुर्सानीबाटै रु. चार लाखसम्म बचत हुने गरेको छ ।”
भट्ट परिवारले सञ्चालन गर्दै आएको मल्टी एग्रो फार्ममा करिब ४० रोपनी क्षेत्रफलमा तरकारी तथा फलफूल खेती भइरहेको छ ।
भेडेखुर्सानी, किबी, कागती, सुन्तला खेतीसँगै कुखुरा तथा बङ्गुरपालन गर्दै आएको छ ।
शुरुका दिनमा प्राविधिक ज्ञानको अभावमा केही कठिनाइ भए पनि अहिले किबी खेती क्रमशः विस्तार हुँदै गएको भट्टका छोरा दीपक बताउँछन् । बजारको केही चुनौती भए तापनि पाँच रोपनीमा किबी खेती गरिएको उनले बताए ।
“बजार र प्राविधिक ज्ञानको अभाव छ । युट्युब हेरेर व्यवसाय सञ्चालन गरेको हुँ”, दीपकले भने, “विक्रम संवत २०७६ देखि शुरु गरिएकामा अहिले पाँच रोपनी क्षेत्रफलमा विस्तार गरी किबीका दुई सय बोट लगाएका छौँ ।”
दैनिक पन्ध्र सय बढी अण्डा उत्पादन
दुई वर्षयता दीपकले कुखुरापालन व्यवसाय पनि थपेका छन् । रु. दस लाखको लगानीमा आधुनिक खोर निर्माण गरी कुखुरापालन व्यवसाय थपिएको उनले जानकारी दिए ।
“अण्डा उत्पादनका लागि लेयर्स जातका दुई हजारभन्दा बढी कुखुरा छन्”, दीपक भन्छन्, “दैनिक एक हजार छ सय अण्डा उत्पादन हुने गरेको छ । बैतडीसहित बझाङ र दार्चुलाका विभिन्न बजारमा जाने गरेको छ ।”
बजारको अभाव नभए पनि ढुवानीको समस्या हुने गरेको कृषक भट्ट परिवारको भनाइ छ ।
व्यवसाय विस्तारको योजना भए तापनि दाना, अण्डा, बीउबिजनलगायत उत्पादित तरकारी बजारसम्म पुर्याउन सकस हुने गरेको दीपकको भनाइ छ ।
मेहनत गरे गाउँमै राम्रो आम्दानी
कृषि व्यवसायबाट वार्षिक रु. एक करोडभन्दा बढीको कारोबार हुने भए पनि उत्पादन लागत, दाना, मल, औषधि, श्रम तथा ढुवानीलगायत खर्च कटाउँदा बचत भने अपेक्षाकृत कम हुने गरेको परिवारको भनाइ छ । सबै खर्च कटाएर वार्षिक रु. ३० लाखसम्म खुद नाफा हुने गरेको दीपक बताउँछन् ।
“बाहिर गर्नुपर्ने मेहनत गाउँमै गरे आम्दानी राम्रो हुन्छ”, दीपक बताउँछन् । “यहाँ केही पनि छैन भन्दै सयौँ नेपाली रोजगारीको खोजीमा विदेशिने गरेका छन्”, उनले भने, “तर गाउँमा पनि थुप्रै अवसर छन् । यतै मेहनत गर्यौँ भने विदेशकोभन्दा राम्रो कमाई हुन्छ ।”
व्यवसाय विस्तार गर्ने योजनामा रहेका भट्टले सरकारको साथ खोजेका छन् । उनले सडकको सहज पहुँच र बजारको थप व्यवस्थापनका लागि स्थानीय सरकारलाई आग्रहसमेत गरे ।

