२०८३, कार्तिक १३ गते शुक्रबार

भद्रकाली मन्दिर धमाधम पुन:निर्माण हुँदै

भद्रकाली मन्दिर धमाधम पुन:निर्माण हुँदै


  • मेरोभ्यूज
  • आश्विन १७, २०८३ शनिबार

  • भद्रकाली मन्दिर धमाधम पुन:निर्माण हुँदै

     

    काठमाडौँ । भद्रकाली मन्दिर परिसरको पुन:निर्माण तीव्रगतिमा अघि बढेको छ । परिसरको पुन:निर्माण परम्परागत वास्तुशैलीमा भइरहेको छ ।

    भद्रकाली काठमाडौँको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पुरानो मन्दिर हो । निर्माणमा नेवारी परम्परागत शैली अपनाइएको छ ।

    वि.सं. २०७२ को महा विनाशकारी भूकम्पबाट मन्दिर परिसरका संरचनामा क्षति पुगेको थियो । वि.सं. २०८१ असारदेखि परिसरको पुन:निर्माण शुरु गरिएको हो । हाल मन्दिरसँगै आसपासका पाटी तथा सत्तलको पुन:निर्माण तथा जीर्णोद्धार भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

    पुन:निर्माणका क्रममा मन्दिर परिसरमा रहेका पुराना संरचना, शिल्प तथा वास्तुशैलीको अभिलेखन गर्ने जिम्मेवारी पुरातत्त्व विभागले लिएको छ ।

    मन्दिर परिसरको निर्माण तुल्सी-अम्बुजा जेभीले गर्दैछ । रु. ३४ करोड ८० लाख ७१ हजारको लागतमा पुन:निर्माणको जिम्मेवारी पाएको हो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजनाअन्तर्गत मुख्य मन्दिरका साथै पश्चिम, उत्तर र दक्षिणतर्फ रहेका पाटी तथा सत्तललगायत संरचनाको पुन:निर्माण भइरहेको छ ।

    काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका सिभिल इन्जिनियर रवीन्द्र रिजालका अनुसार पुन:निर्माणमा कुँदिएका बुट्टेदार ढोका, झ्याल तथा थाम प्रयोग गरिनेछ भने छानोमा परम्परागत झिँगटी राखिनेछ ।

    उत्तरतर्फ भृकुटीमण्डप क्षेत्रमा दुईवटा ब्लक आपसमा जोडिने तथा दक्षिणतर्फ तीनवटा ब्लक निर्माण हुनेछन् । निर्माण हुने सबै भवनको कुल क्षेत्रफल करिब ३९ हजार वर्गफिट रहने जनाएको छ ।

    काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भद्रकाली मन्दिर परिसरको पुन:निर्माण महानगरपालिकाको पूर्वाधार विकासको काम मात्र नभइ सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र निरन्तरतासँग जोडिएको महत्त्वपूर्ण कार्य भएको बताए ।

    पुन:निर्माणलाई व्यवस्थित र सहजीकरण गर्न सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको संयोजकत्वमा मन्दिर पुन:निर्माण सहजीकरण समिति गठन गरिएको छ ।

    समितिमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, शहरी विकास आयोजनाका सदस्य बाबुराम भट्टराई, लुमधी भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्वअध्यक्ष गौतम डङ्गोल तथा पुरातत्त्व विभाग र गुठी संस्थानका प्रतिनिधि सदस्य रहेका छन् ।

    समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन विभागकी विभागीय प्रमुख कुमारी राई रहेको महानगरपालिकाले जनाएको छ ।

    परम्परागत नेवारी वास्तुकला, काठमा कुँदिएका बुट्टा तथा मौलिक निर्माण शैलीलाई संरक्षण गर्दै पुन:निर्माण भइरहेको भद्रकाली मन्दिर परिसरको काम सम्पन्न भएपछि काठमाडौँको महत्त्वपूर्ण ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।


    प्रकाशित : शनिबार, आश्विन १७ २०८३१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार