भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला व्यावसायिक कफी खेतीमा रमाइरहेका छन् ।
परम्परागत खेतीबाट अपेक्षित आम्दानी नभएपछि वैकल्पिक बालीका रूपमा कफी रोजेका उनले अहिले यसैमा भविष्य देख्न थालेका छन् ।
चौलागाईँले हाल करिब दस रोपनी क्षेत्रफलमा एक हजार बोट अरबिका जातको कफी विस्तार गरेका छन् । गत वर्षदेखि व्यावसायिकरूपमा खेती विस्तार गरेका उनले योजनाबद्ध रूपमा उत्पादन बढाउँदै लैजाने बताए ।
अन्तरराष्ट्रिय बजारमा समेत नेपाली कफीको माग उच्च रहेको बुझाइका आधारमा उनी कफी खेतीप्रति आकर्षित भएका हुन् ।
“कफी खेतीमा शुरुमा मिहिनेत धेरै लाग्छ, तर उत्पादन राम्रो भयो भने आम्दानी पनि राम्रो हुन्छ”, उनले भने ।
कफी खेती विस्तारमा षडानन्द नगरपालिकाको सक्रिय साथले किसानलाई थप उत्साहित बनाएको छ ।
नगरपालिकाले कृषि उपकरण, प्राविधिक सहयोग, बिरुवा तथा तालिम उपलब्ध गराउँदै किसानलाई व्यावसायिक खेतीतर्फ प्रेरित गरिरहेको छ ।
किसानलाई कफी खेतीमा प्रोत्साहन गर्न षडानन्द नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफी खेती विस्तार तथा व्यावसायीकरण परियोजना’ सञ्चालन गरेको छ ।
कफीलाई आयआर्जन र रोजगारीको प्रमुख आधार बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
गत आर्थिक वर्षमा नगरपालिकाको रु. एक करोड ६५ लाख बजेट र किसानको लागत साझेदारीसमेत समावेश गर्दा परियोजनाको आकार रु. दुई करोड ८९ लाख पुगेको कृषि विकास शाखाले जनाएको छ ।
यस कार्यक्रममार्फत कफी खेतीको विस्तार, उत्पादन वृद्धि र बजारसँग जोड्ने पहल भइरहेको छ ।
कृषि क्षेत्रको व्यावसायीकरण, गरिबी न्यूनीकरण र ग्रामीण अर्थतन्त्र सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय तथा प्राङ्गारिक कफी उत्पादन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरेन्द्रकुमार उदासले बताए ।
उनका अनुसार यहाँ करिब पाँच हजार हेक्टर क्षेत्रमा कफी खेती गर्न सकिने सम्भावना रहेको अध्ययनले देखाएको छ ।
“नगरको समृद्धिसँगै आयआर्जनमा टेवा पुर्याउने लक्ष्यले कफी खेतीमा जोड दिएका हौँ”, प्रमुख उदासले भने, “राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारको अध्ययन गर्दा कफीको सम्भावना निकै राम्रो देखिएको छ । त्यसैले किसानलाई प्रोत्साहन गर्दै लगानी बढाएका हौँ ।”
षडानन्द क्षेत्रमा कफी खेती विस्तारसँगै अन्य किसान पनि यसतर्फ आकर्षित हुन थालेका छन् ।
स्थानीय तहको लगानी, प्राविधिक सहयोग र किसानको सक्रियताले कफी खेतीलाई दीर्घकालीन आम्दानीको स्रोत बनाउने देखिएको स्थानीयवासीको भनाइ छ ।

