२०८३, कार्तिक १३ गते शुक्रबार

पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा

पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा


  • मेरोभ्यूज
  • आश्विन ८, २०८३ बिहीबार

  • पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा

     

    गण्डकी । पोखरा सार्वजनिक पुस्तकालय पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा नवनिर्मित ‘पोखरा घर’मा सरेको छ । यसअघि नयाँबजारस्थित क्षेत्री समाजको भवनबाट पुस्तकालय सञ्चालित थियो ।

    तीन वर्षअघि महेन्द्रपुलमा रहेको पुरानो पुस्तकालय भवन हटाएर महानगरले झण्डा उद्यान बनाएपछि पुस्तकालयलाई अस्थायीरूपमा क्षेत्री समाज भवनमा सारिएको थियो ।

    पोखराको चिनारी दिने गरी महानगरले बनाएको ‘पोखरा घर’बाट पुस्तकालय सेवा शुरु गरिएको पुस्तकालय सञ्चालक समितिका उपाध्यक्ष शिरोमणि बरालले बताए ।

    पुस्तकालय सरेसँगै नयाँ भवनमा आन्तरिक सजावट र व्यवस्थापनका काम भइरहेको उनको भनाइ छ ।

    पुस्तकालय सञ्चालनका लागि भवनको तला सँगै फर्निचरलगायतका सामग्री महानगरले उपलब्ध गराएको उपाध्यक्ष बरालले बताए ।

    विक्रम संवत २०४९ मा स्थापना भएको यस पुस्तकालयमा विभिन्न विधाका १२ हजारभन्दा बढी पुस्तकहरू सङ्ग्रहित छन् ।

    पोखरा महानगरपालिकासँगको सहकार्य र समन्वयमा पुस्तकालय थप व्यवस्थित र दिगो ढङ्गले सञ्चालन हुने बताइएको छ ।

    “पोखरामा पठन संस्कृतिको विकासमा यो पुस्तकालयको ठूलो योगदान छ”, उपाध्यक्ष बरालले भने, “पुस्तकालयलाई प्रविधिमैत्री बनाउँदै समयानुकूल रूपान्तरणमा जोड दिन्छौँ ।”

    विद्युतीय पुस्तकालयलाई पनि थप व्यवस्थित गरिने समितिले जनाएको छ । हालै निर्माण सम्पन्न भएको ‘पोखरा घर’को उद्घाटन हुन बाँकी छ ।

    सोही घरमा आर्ट ग्यालरी, एकीकृत सूचना केन्द्र, कोशेली घर र पोखरा प्रज्ञा प्रतिष्ठानको कार्यालय रहने बताइएको छ ।

    दुई वर्षअघि निर्माण थालिएको ‘पोखरा घर’लाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउने महानगरको तयारी छ ।

    भूमिगत पार्किङसहितको ‘पोखरा घर’ पर्यटकका लागि आकर्षण बन्ने विश्वास लिइएको छ ।

    रु. पाच करोड एक लाख ४६ हजारको लागतमा बनेको यस अपाङ्गमैत्री भवनमा विद्युतीय भर्याङ (लिफ्ट)को समेत सुविधा रहेको छ ।

    ‘पोखरा घर’लाई परम्परागत वास्तुकलासहित आधुनिक प्रविधि र सामग्रीको प्रयोग गरेर निर्माण गरिएको छ ।


    प्रकाशित : बिहीबार , आश्विन ८ २०८३१०:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार