२०८३, कार्तिक १३ गते शुक्रबार

पुराणको रकमबाट घाट निर्माण

पुराणको रकमबाट घाट निर्माण


  • मेरोभ्यूज
  • आश्विन ७, २०८३ बुधबार

  • पुराणको रकमबाट घाट निर्माण

     

    झापा । बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट सङ्कलित रकमको सहयोगमा निर्माण गरिएको देउनिया विश्रान्तिघाट अन्तिम चरणमा पुगेको छ ।

    घाटलाई थप आकर्षक बनाउन शनिबार उक्त क्षेत्र परिसरमा बृहत् सरसफाइ गरिएको छ ।

    देउनिया विश्रान्तिघाट निर्माण समितिको अगुवाइ तथा बिर्तामोड–८ वडा कार्यालयको समन्वयमा गरिएको सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, निर्माण समितिका पदाधिकारी, सुरक्षाकर्मी र स्थानीयवासीको सहभागिता थियो ।

    घाट परिसरमा फूलबारी र फलफूलका बिरुवा रोप्ने तयारीस्वरूप सरसफाइ गरिएको हो ।

    करिब रु. ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको विश्रान्तिघाटका लागि अन्य सरकारी निकायको पनि आर्थिक सहयोग रहेको छ ।

    जसमा कोशी प्रदेश सरकारबाट रु. आठ लाख र बिर्तामोड–८ वडा कार्यालयबाट रु. दस लाख बजेट विनियोजन भएको थियो ।

    त्यस्तै, गत वर्ष जेठमा लगाइएको धार्मिक पुराणबाट रु. नौ लाख ३८ हजार सङ्कलन भएको थियो । बाँकी रकम विभिन्न दाताले सहयोग गरेका थिए ।

    निर्माण समितिका सचिव मदन अधिकारीले समुदायको साथबिना यो काम सम्भव नभएको बताए ।

    उनले भने, “पुराणबाट उठेको रकम, स्थानीयवासीको सहयोग र विभिन्न दाताको साथले विश्रान्तिघाट निर्माण सम्पन्न गर्न सफल भएका छौँ । अब उद्घाटनसँगै यसलाई व्यवस्थित र हरियालीयुक्त स्थलका रूपमा विकास गर्ने तयारी गरेका छौँ ।”

    बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीले घाट निर्माणसँगै स्थानीयले वर्षौँदेखि भोग्दै आएको शवदाहस्थलको समस्या समाधान भएको बताए ।

    “वर्षायाममा देउनिया खोलामा आउने बाढीका कारण शवदाह गर्न कठिन हुने र शव नै बग्ने जोखिम थियो । नयाँ विश्रान्तिघाट बनेपछि त्यो समस्या अन्त्य भएको छ,” उनले भने ।

    वडाध्यक्ष कार्कीका अनुसार अब घाट परिसरको सौन्दर्यकरणमा जोड दिइएको छ ।

    उद्यान निर्माणको अवधारणाअनुसार फूलबारी र फलफूलका बिरुवा रोपेर क्षेत्रलाई हरियालीयुक्त बनाइनेछ ।

    घाट निर्माणमा पशुपतिनाथ क्षेत्रबाट ल्याइएको नफुट्ने प्रकृतिको ढुङ्गा प्रयोग गरिएकाले संरचना दीर्घकालीन र मजबुत बनेको उनले जानकारी दिए ।

    विश्रान्तिघाट रहेको क्षेत्रमा सिँचाइ डिभिजन कार्यालयले रु. २५ लाखको लागतमा तटबन्ध निर्माण गरिसकेको छ भने जनताको तटबन्ध कार्यालयबाट थप रु. २१ लाख तटबन्धका लागि विनियोजन भएको निर्माण समितिले जनाएको छ ।

    समितिका अनुसार विश्रान्तिघाटको उद्घाटन यही साउन महिनाभित्रै गरिने तयारी छ ।


    प्रकाशित : बुधबार, आश्विन ७ २०८३१०:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार