२०८३, कार्तिक १३ गते शुक्रबार

राष्ट्रिय पाठ्यक्रम प्रारूपमा भविष्यको जनशक्ति र सीपमा आधारित शिक्षा आवश्यक

राष्ट्रिय पाठ्यक्रम प्रारूपमा भविष्यको जनशक्ति र सीपमा आधारित शिक्षा आवश्यक


  • मेरोभ्यूज
  • भाद्र २९, २०८३ सोमबार

  • राष्ट्रिय पाठ्यक्रम प्रारूपमा भविष्यको जनशक्ति र सीपमा आधारित शिक्षा आवश्यक

     

    सुर्खेत । राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६ लाई आगामी १५–२० वर्षमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपणसहित परिमार्जन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

    प्याब्सन कर्णाली प्रदेश सुर्खेतले आयोजना गरेको राष्ट्रिय पाठ्यक्रम प्रारूपसम्बन्धी सुझाव सङ्कलन कार्यक्रममा सहभागीहरूले पाठ्यक्रमलाई समयानुकूल, व्यावहारिक, सीपमूलक र रोजगारीसँग जोड्नुपर्ने बताएका हुन् ।

    कार्यक्रममा शिक्षाका राष्ट्रिय उद्देश्य र त्यसको कार्यान्वयनबीच तालमेल हुनुपर्ने, पाठ्यक्रम निर्माणसँगै कार्यान्वयन पक्षलाई पनि समान प्राथमिकता दिनुपर्ने सुझाव दिइएको थियो ।

    सहभागीहरूले अन्तरराष्ट्रिय अभ्यासको अनुसरण मात्र नगरी नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक र भौगोलिक परिवेशअनुकूल पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिए ।

    प्रारम्भिक बालविकास तथा शिक्षालाई स्पष्टरूपमा सम्बोधन गर्नुपर्ने, सामुदायिक र संस्थागत विद्यालयमा बालविकासको अभ्यासमा रहेको भिन्नतालाई पाठ्यक्रमले सम्बोधन गर्नुपर्ने सुझाव पनि कार्यक्रममा उठेको थियो ।

    त्यस्तै, पाठ्यपुस्तकमा कार्यघण्टाको तुलनामा विषयवस्तु र अभ्यास धेरै रहेको तथा उमेरअनुसार कतिपय विषयवस्तु जटिल भएकाले पाठ्यभार पुनरावलोकन गर्नुपर्ने सहभागीहरूको भनाइ थियो ।

    सबै विषयका पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास र विषयवस्तु छनोट प्रक्रियालाई समावेशी बनाउनुपर्ने सुझावसमेत दिइएको छ ।

    शिक्षकहरू नै पाठ्यक्रम विकास केन्द्र तथा पाठ्यक्रमका विषयमा पर्याप्त जानकार नभएको भन्दै पाठ्यक्रमसम्बन्धी प्रबोधीकरण र शिक्षक क्षमता विकासलाई प्राथमिकतामा राख्नुपर्ने सहभागीहरूले बताए ।

    पाठ्यक्रम कार्यान्वयनसँग मेल खाने मूल्याङ्कन प्रणाली विकास गर्नुपर्नेमा समेत उनीहरूले जोड दिए ।

    मानसिक स्वास्थ्य, खेलकूद, कला र सङ्गीतलाई विद्यार्थीको समग्र विकाससँग जोडेर अनिवार्य सिकाइ क्षेत्रका रूपमा समावेश गर्नुपर्ने सुझाव आएको छ ।

    सबै तहको पाठ्यक्रममा जीवनोपयोगी तथा व्यावसायिक सीप सिक्ने विषयवस्तु राख्नुपर्ने उनीहरुको जोड छ ।


    प्रकाशित : सोमबार, भाद्र २९ २०८३११:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार