२०८३, कार्तिक १३ गते शुक्रबार

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो


  • मेरोभ्यूज
  • भाद्र २६, २०८३ शुक्रबार

  • गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

     

    काठमाडौँ । काठमाडौँ उपत्यकाको उत्तरभागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।

    आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको यहाँ भीड लागेको हो ।

    दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कार्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔँसी भनिएको हो । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ ।

    कुशेऔँसीका अवसरमा आज बिहानैदेखि गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्दै तर्पण, आमान्न र पिण्डदान गर्ने पितृभक्तको घुइँचो लागेको छ । धार्मिक मान्यताअनुसार भाद्रपद कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध तथा तर्पण गर्दा २१ पुस्तासम्मका पितृले मुक्ति पाउँछन् ।

    गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको धार्मिक विश्वास रहेको यस तीर्थमा श्राद्ध तथा तर्पण गर्दा पितृले मुक्ति पाउने धर्मशास्त्रमा वर्णन छ ।

    बौद्ध धर्मगुरु ऐतमान लामाका अनुसार बौद्ध धर्मावलम्बीहरूको पनि बाबुको निधन भएको एक वर्षभित्र गोकर्णेश्वरमा पुगेर श्राद्ध तथा पूजाआजा गर्ने र त्यसपछि भोज खाने परम्परा छ ।

    यस दिन गोकर्णेश्वर महादेवको दर्शन गरेमा दिवङ्गत बाबुको प्रतीकात्मक दर्शन भएको मानिन्छ । भाद्र कृष्ण औँसीलाई गोकर्णेश्वरमा लाग्ने मेलाका कारण यसलाई गोकर्णे औँसी पनि भनिन्छ ।

    धार्मिक मान्यताअनुसार पशुपतिनाथमा श्री यन्त्र र गोकर्णेश्वरमा बाल यन्त्र रहेकाले पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्छ ।

    -----


    प्रकाशित : शुक्रबार, भाद्र २६ २०८३०९:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार