सुर्खेत । तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका लागि सामान्य उपचारसमेत सहज थिएन । अपाङ्गता भएकी उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिइन् ।
बिहान–बेलुकाको छाक टार्नै कठिन हुने आर्थिक अवस्थाका कारण नियमित स्वास्थ्य परीक्षण र औषधि खरिद गर्नु उनका लागि असम्भव जस्तै थियो ।
वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० देखि ‘अति विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालनमा ल्याएपछि उनको जीवनमा सकारात्मक परिवर्तन आएको छ ।
नगरपालिकाले परिवारका पाँच सदस्यको स्वास्थ्य बिमा गरिदिएपछि उनी अहिले निर्धक्क भएर नियमित स्वास्थ्य परीक्षण गराउँछिन् र आवश्यक औषधि पनि सहजै पाउँछिन् ।
मन्धरीले भनिन्, “पहिले नियमित जाँच गराएर औषधि ल्याउने पैसाको जहिले पनि अभाव हुन्थ्यो, नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएपछि उपचार गर्न धेरै सहज भएको छ ।”
नगरपालिकाले शुरु गरेको यो कार्यक्रमबाट अति विपन्न र गरिबलाई स्वास्थ्य सेवा लिन सहज भएको छ ।
नगरपालिकाका अनुसार यो कार्यक्रमबाट ३० जनाभन्दा धेरै विपन्नले लाभ लिएका छन् । बिमा गर्दा शुरुमा लाग्ने रु. तीन हजार पाच सय नगरपालिकाले नै तिरिदिन्छ ।
नगरपालिका प्रमुख मोहनमाया ढकालले नगरभित्रका महिला, बालबालिका, विपन्न, सीमान्तकृतलगायतका नागरिकको स्वास्थ्य, शिक्षा र सहज सेवालाई प्राथमिकतामा राखिएको बताइन् ।
नगरपालिकाले विपन्न, ज्येष्ठ नागरिक र दीर्घ रोगीका लागि निःशुल्क स्वास्थ्य बिमा, ज्येष्ठ नागरिक तथा गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनलगायतका कार्यक्रम शुरु गरेको छ ।
नगरपालिकाको कार्यक्रमले वीरेन्द्रनगर नगरपालिका–५ कालिका मन्दिरकी ३३ वर्षीया लक्ष्मी नेपालीलाई पनि निकै सहज भएको छ ।
आर्थिक अवस्था कमजोर भएकी नेपालीले नगरपालिकाले सञ्चालन गरेको महिला स्वरोजगार कार्यक्रमअन्तर्गत अटो रिक्सा चलाउने तालिम दिएपछि अहिले उनको जीवन फेरिएको छ । पहिले घरको काममै बित्ने उनको दैनिक अहिले अटोको धपेडीमा बित्न थालेको छ ।
लक्ष्मी अहिले श्रीमानसँगै अटो रिक्सा चलाएर दैनिक रु. तीन हजारभन्दा बढीको कारोबार गर्छिन् । उनी भन्छिन्, “सबै खर्च कटाएर दैनिक रु. एक हजार त बचत गर्छु, आफैँले कमाउन थालेपछि आत्मविश्वास बढेको छ ।”
वीरेन्द्रनगर नगरपालिकाले चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई स्वरोजगार बनाउने उद्देश्यले छ वर्षअघि यो कार्यक्रम ल्याएको थियो ।
‘समृद्ध वीरेन्द्रनगरको आधार: एक घर एक महिला रोजगार’ कार्यक्रमअन्तर्गत महिलालाई स्वरोजगार बनाउनका लागि व्यवसायका आधारमा ५० प्रतिशत बिना ब्याजको ऋण र ५० प्रतिशत अनुदान दिने गरिएको छ ।
नगरपालिकाले अनुदानमा तालिम लिएका महिलामध्ये हाल ३६ जना महिलाले अटो चलाइरहेका छन् ।
महिला स्वरोजगार कार्यक्रमअन्तर्गत धेरै महिला विभिन्न रोजगारमूलक काममा आवद्ध भएको प्रमुख ढकालले जानकारी दिइन् ।
कार्यक्रमबाट लाभान्वित हुनेमा वीरेन्द्रनगर–२ की ४५ वर्षीया सीता गौतम पनि हुन् । उनी चार वर्षदेखि कृषि पेसामा आबद्ध छिन् । नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ टनेल उपलब्ध गराएपछि उनी यसमा जोडिएको हो ।
नगरपालिकाले बोरिङ पनि दिएपछि खानेपानी र सिँचाइ गर्न सजिलो भएको उनको भनाइ छ । उनले भनिन्, “अहिले तरकारी खेतीबाट वार्षिक रूपमा रु. दुईदेखि रु. तीन लाखसम्म आम्दानी हुने गरेको छ ।”
नगरपालिकाका प्रमुख ढकालले ‘छोरी हुनुमा गर्व गर’ भन्ने नारासहित बालविवाह, बहुविवाह, बालश्रम मुक्त नगरजस्ता अभियान सञ्चालनमा ल्याएकी छिन् ।
हाल नगरपालिकामा महिलाको स्वास्थ्य, आमा सुरक्षा कार्यक्रम, छोरी जन्म बचत खाता, महिला स्वरोजगार, मेयरसँग महिला किसानलगायत दर्जनभन्दा बढी महिलासम्बन्धी कार्यक्रम सञ्चालनमा छन् ।
छोरी बचत खाताअन्तर्गत वीरेन्द्रनगरमा जन्मिएका एक हजारभन्दा बढी छोरीहरूको बैंक खाता खोलिएको छ ।
साथै गर्भवती तथा सुत्केरीको स्वास्थ्य सुरक्षाका लागि ‘हेलो गर्भवती आमा’ कार्यक्रम सञ्चालन भइरहेको छ ।
जसअन्तर्गत दक्ष स्वास्थ्यकर्मीहरूले फोनमार्फत परामर्श, स्वास्थ्य सल्लाह र सुत्केरी पूर्व/पछिको जानकारी घरमै उपलब्ध गराउँछन् ।
महिलाका लागि निःशुल्क स्यानिटरी प्याड, गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क भिडियो एक्सरे कार्यक्रम पनि सञ्चालन गरिएको छ । यी कार्यक्रम एकदमै प्रभावकारी भएको प्रमुख ढकालको भनाइ छ ।
साथै नगरपालिकाले पाँच शय्याको महिला तथा बालबालिका नगर अस्पताल सञ्चालन गरेको छ ।
उक्त अस्पताल कर्णाली प्रदेशमै मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी सेवा प्रदान गर्न अति सहज र उपयोगी भइरहेको स्थानीयको भनाइ छ ।
नगरमा सुधारको शुरुआत
वीरेन्द्रनगरको नेतृत्वमा आफू आएपछि नगर सुधारका लागि धेरै कामको शुरुआत गरेको ढकाल बताउँछिन् ।
वीरेन्द्रनगरलाई ‘शैक्षिक हब’ को रूपमा विकास गर्न नगरपालिकाले दस वर्षे शैक्षिक रणनीति तयार पारेको छ ।
वि.सं. २०९० सम्म प्रदेश राजधानीभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले महशुस गर्ने गरी शैक्षिक सुधार गरिने उनको भनाइ छ ।
उनका अनुसार पाठ्यक्रमको विकास, शिक्षक व्यवस्थापन, सामुदायिक विद्यालय सबलीकरण, अनौपचारिक शिक्षा, दूर शिक्षा तथा खुल्ला सिकाइ, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचना प्रविधि र समावेशी शिक्षालाई उक्त शिक्षा मोडेलले जोड्नेछ ।
‘उज्यालो र सुरक्षित वीरेन्द्रनगर’ अभियानअन्तर्गत चोक र मुख्य सडकमा हाइ मास्ट लाइट र सिसीटिभी क्यामेरा जडान भएका छन् ।
नगरपालिकाले मुख्य बजारमा फुटपाथ खाली गराएको छ । सार्वजनिक जग्गाको संरक्षणमा कडाइका साथ लागेको उनी बताउँछिन् ।
वीरेन्द्रनगरमा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न अघि सारिएको भेरी लिफ्ट खानेपानी आयोजनाको अहिले धमाधम काम भएको छ ।
यी योजना सम्पन्न भए वीरेन्द्रनगरवासीले भोगिरहेको खानेपानी सङ्कटको समस्या समाधान हुने भन्दै उनले आगामी ५० वर्षसम्म पानीको अभाव झेल्न नपर्ने बताएकी छिन् । बढ्दै गएको शहरीकरणका कारण नगरपालिकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ ।
प्रमुख ढकालका अनुसार नगरपालिकाको फोहोरमैला दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल साइट निर्माण गरिएको छ भने फोहरबाट मोहोर कार्यक्रम सञ्चालनमा छ ।
वीरेन्द्रनगर वातावरण र दिगो व्यवस्थापनमा देशकै उत्कृष्ट पालिकाको रूपमा तीन वर्षअघि नगरपालिका महासंघबाट पुरस्कृत भएको थियो । फोहोर व्यवस्थापनबाट वार्षिक रु. ३० लाख राजस्व सङ्कलन हुने गरेको छ ।
ठूला योजनामा भएन काम
नगरप्रमुख ढकालको नेतृत्वले नगरलाई समृद्ध बनाउनका लागि विभिन्न योजना अगाडि सारे पनि कार्यान्वयनमा अझै समस्या देखिएको स्थानीयको गुनासो छ ।
वीरेन्द्रनगर–१ का लोकबहादुर गुरुङले नगरभित्रको फोहर व्यवस्थापन नहुँदा सबैभन्दा ठूलो समस्या आफ्नो समुदायले भोगेको बताए ।
“अहिलेसम्म ल्याण्डफिल साइट बनेको छैन, फोहरको दुर्गन्धले घरमा बस्न नसक्ने अवस्था छ, स्वास्थ्यमा समस्या देखिन थालेको छ”, उनले भने ।
लामो समयदेखि फोहर व्यवस्थापन गर्छौँ भनी प्रतिबद्धता जनाए पनि काम भने नगरेको गुरुङको गुनासो छ ।
फोहर व्यवस्थापन हुन नसक्नुको समस्या ढल निकास प्रणाली पनि हो ।
वर्षायाममा निकास नहुँदा वीरेन्द्रनगरको तल्लो क्षेत्रका बस्ती डुबानमा पर्ने गरेका छन् ।
स्थानीय सुरेन्द्र कार्कीले सडक तथा शहरी पूर्वाधारतर्फ पनि उल्लेखनीय सुधार नभएको गुनासो गरे ।
“भित्री सडकको अवस्था नाजुक छ, बजार क्षेत्रमा पार्किङ व्यवस्थापन स्पष्ट नहुँदा जाम बढ्दो छ भने शहरी सौन्दर्यकरणका काम पनि अधुरै छन्”, उनले भने ।
नगरवासीले वर्षौँदेखि भोग्दै आएको मुख्य समस्या खानेपानीको अभाव हो ।
नगरपालिकाले भेरी नदीको पानी पम्पिङ गरी वीरेन्द्रनगर उपत्यकामा ल्याउने योजना अघि सारेको करिब एक दशकपछि अहिले निर्माण कार्य शुरु भएको छ ।
तर, बढ्दो जनसङ्ख्याका कारण विशेषगरी खडेरीको समयमा नगर क्षेत्रमा खानेपानीको समस्या झन् चर्किने गरेको छ ।
वीरेन्द्रनगर–७ की ईन्दिरा केसीका अनुसार नगरका कतिपय वडामा अझै नियमित रूपमा खानेपानी उपलब्ध हुँदैन । पर्याप्त पानी नआउँदा ट्याङ्करकै भर पर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
नगरपालिकाले योजना घोषणा गरे पनि तिनको स्पष्ट प्राथमिकता, समय सीमा र कार्यान्वयनको ठोस ढाँचा नहुँदा अपेक्षित परिणाम हासिल हुन नसकेको नगरवासीको गुनासो छ ।

