कैलाली । कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतल चिनी (मोरिङ्गा)को व्यावसायिक खेतीमा आबद्ध भइ स्थानीय किसानका लागि प्रेरणाको स्रोत बनेका छन् । उनले व्यावसायिक उत्पादनलाई विस्तार गर्दै स्वरोजगार बनेका हुन् ।
भट्टले एक बिघा आफ्नै जमिनमा व्यावसायिक रूपमा शीतल चिनीको खेती गरेका छन् । एक वर्ष अघिदेखि खेती गरेका उनले हाल खेतमा एक हजार दुई सय भन्दा बढी बिरुवा लगाएका छन् । अझै आठ सय बिरुवा रोप्ने उनको योजना छ ।
भट्टको खेत अवलोकन गर्न दिनहुँ स्थानीय किसान पुग्ने गरेका छन् । परम्परागत खेतीसँगै उनले गरेको शीतल चिनीको व्यावसायिक उत्पादनबाट उत्प्रेरित भइ अवलोकनका लागि आउने गरेको किसानहरू बताउँछन् ।
कम लागतमा उत्पादन गर्न सकिने, तुलनात्मक रूपमा कम स्याहार गर्नुपर्ने तथा बजारको माग पनि बढ्दै गएकाले शीतल चिनीको खेती शुरु गरेको भट्टले बताए ।
करिब रु. दुई लाख लगानीमा व्यवसाय शुरु गरेका उनले बजारको माग बढ्दै गएकाले खेती विस्तार गर्ने योजना बनाएको बताए ।
“पोषकतत्वले भरिपूर्ण मानिने शीतल चिनीको शुरुमा यसको उपयोगिताबारे धेरैलाई जानकारी थिएन” भट्टले भने, “पछिल्लो समय यसको फाइदाका बारेमा सबै जानकार हुन थालेपछि बजारमा माग बढ्न थालेको छ । यसको अझै प्रचार-प्रसार हुन सक्यो भने व्यवसायले बजार पाउने सम्भावना अझै बढी हुनेछ ।”
भट्टले शीतल चिनीका पातबाट पाउडर बनाइ प्याकेजिङ गरेर बिक्री गर्दै आएका छन् । दुई सय दस ग्रामको खुद्रा मूल्य रु. सात सय र होलसेल मूल्य रु. चार सय रहेको जनाउँदै यसको बिक्रीबाट करिब ७० प्रतिशत फाइदा हुने उल्लेख गरे ।
उनका अनुसार उत्पादित शीतल चिनीको पाउडर कैलालीको धनगढी, अत्तरिया, काठमाडौँ, पोखरालगायतका स्थानमा बिक्री हुने गरेको छ ।
शीतल चिनी कम पानीमा पनि राम्रोसँग हुर्कने भएकाले तराई क्षेत्रका किसानका लागि उपयुक्त बाली मानिन्छ । यसको नियमित हेरचार गरेमा वर्षौंसम्म उत्पादन लिन सकिने भएकाले लागत पनि तुलनात्मक रूपमा कम पर्ने भट्टले बताए ।
कृषि विज्ञका अनुसार शीतल चिनीमा भिटामिन, क्याल्सियम, आइरन, प्रोटिन प्रशस्त हुने भएकाले यसको उपयोगिता दिनप्रतिदिन बढ्दै गएको छ । यो बहुउपयोगी औषधीय तथा पोषणयुक्त बिरुवा हो । यसको पात, फूल, कोसा, बीउ र जरासमेत विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ ।

