२०८३, कार्तिक १३ गते शुक्रबार

वन उद्यममा जोडिँदै नवलपुरका महिला

वन उद्यममा जोडिँदै नवलपुरका महिला


  • मेरोभ्यूज
  • भाद्र २२, २०८३ सोमबार

  • वन उद्यममा जोडिँदै नवलपुरका महिला

     

    नवलपरासी । वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले हस्तकला उद्यममार्फत आयआर्जनसँगै स्थानीय रोजगारी सिर्जना गरिरहेका छन् ।

    जिल्लाको देवचुली नगरपालिकास्थित नमूना महिला सामुदायिक वनमा आबद्ध महिलाले थाकल र अम्रिसोको उपयोग गरी विभिन्न हस्तकलाका सामग्री तथा कुचो उत्पादन गर्दै आत्मनिर्भर बन्ने अभियान सञ्चालन गरेका हुन् ।

    पहिले वनमा खेर जाने थाकल अहिले महिलाहरूको आम्दानीको मुख्य स्रोत बनेको छ ।

    उनीहरूले थाकलबाट झोला, टेबल म्याट, टिम्याट, टोपी, गमला, सजावटका सामग्रीलगायत विभिन्न हस्तकला उत्पादन गरिरहेका छन् । त्यस्तै अम्रिसोबाट कुचो उत्पादन गरी स्थानीय बजारदेखि काठमाडौँसम्म बिक्री गर्दै आएका छन् ।

    नमूना हस्तकला सामान उत्पादन महिला समूहकी अध्यक्ष कोपिला रायमाझीका अनुसार केही वर्षअघि थाकलको झोला बुन्ने तालिम लिएपछि सामान्य झोला उत्पादनबाट शुरु गरिएको उद्यम अहिले विभिन्न प्रकारका हस्तकलाका सामग्री र अम्रिसोका कुचो उत्पादनसम्म विस्तार भएको छ ।

    हाल समूहमा करिब वीस जना महिला सक्रिय रूपमा आबद्ध रहेका उनले जानकारी दिए ।

    उनका अनुसार समूहका सदस्यहरूले सामुदायिक वनबाट थाकल सङ्कलन गरी त्यसलाई प्रशोधन गरेर विभिन्न सामग्री उत्पादन गर्छन् ।

    उत्पादनमा संलग्न सदस्यहरूलाई निश्चित पारिश्रमिक प्रदान गरिन्छ भने बाँकी बचत पुनः उद्यम विस्तारमा लगानी गर्ने व्यवस्था गरिएको उनले बताए ।

    उद्यममा आबद्ध खगिसरा लुङ्गेलीले घरधन्दा सकेपछि फुर्सदको समयमा घरमै बसेर थाकलका झोला, टोपी तथा अम्रिसोका कुचो बनाउने गरेको बताए ।

    उद्यमबाट हुने आम्दानीले व्यक्तिगत खर्च व्यवस्थापन गर्न तथा परिवारको आर्थिक आवश्यकतामा सहयोग पुगेको उनको भनाइ छ ।

    भर्खरै कुचो बनाउने तालिम लिएकी कुमारी श्रेष्ठले अन्य महिलाहरू उद्यममार्फत आत्मनिर्भर बनेको देखेपछि आफू पनि समूहमा आबद्ध भएको बताइन् ।

    सीप हासिल गरेपछि आफ्नै मेहनतबाट आम्दानी गर्न सकिने आत्मविश्वास बढेको उनले सुनाइन् ।

    समूहले उत्पादन गरेका सामग्रीहरू मुख्यतः घरबास (होमस्टे), पर्यटन क्षेत्र तथा काठमाडौँसम्म पुग्ने गरेका अध्यक्ष रायमाझीले जानकारी दिए ।

    पछिल्लो समय बजार खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको भन्दै विभिन्न सङ्घ/संस्थाका प्रतिनिधि तथा ग्राहक स्वयं माग गर्दै आउने गरेका छन्, उनले बताए ।

    नमूना महिला सामुदायिक वनकी अध्यक्ष रिलकुमारी तामाङका अनुसार थाकलबाट हस्तकला सामग्री उत्पादनसँगै व्यावसायिक रूपमा अम्रिसोका कुचो उत्पादनलाई समेत विस्तार गरिएको छ ।

    आफ्नै सामुदायिक वनमा पर्याप्त अम्रिसो नहुँदा अन्य सामुदायिक वनबाट कच्चा पदार्थ ल्याएर उत्पादन बढाइएको उनले जानकारी दिए ।

    वनकी अध्यक्ष तामाङका अनुसार हाल काठमाडौँबाट एकैपटक एक सयवटा हस्तकला सामग्रीको माग आएको छ । माग बढ्दै जाँदा समूहमा आबद्ध महिला थप उत्साहित बनेका छन्, उनले बताए ।

    उद्यमलाई व्यवस्थित बनाउन समूह दर्ता गरी संस्थागत रूपमा सञ्चालन गरिएको तामाङले जानकारी दिए ।

    उद्यम विस्तार गर्ने उद्देश्यले केही दिनअघि मात्रै थप वीस जना महिलालाई तालिम प्रदान गरिएको थियो । उक्त तालिम सञ्चालनका लागि डिभिजन वन कार्यालयले सहयोग गरेको उनले बताए ।

    वनमा खेर जाने प्राकृतिक स्रोतको सदुपयोग गर्दै सञ्चालन गरिएको यस उद्यमले महिला सशक्तीकरण, आयआर्जन र स्थानीय रोजगारी प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी सुवास अधिकारीले बताए ।

    वन पैदावारको दिगो उपयोगमार्फत वातावरण संरक्षणसँगै ग्रामीण महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन डिभिजन वन कार्यालयले यहाँका सामुदायिक वनलाई प्रोत्साहन गर्दै आएको उनले बताए ।


    प्रकाशित : सोमबार, भाद्र २२ २०८३०९:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार