२०८३, कार्तिक १३ गते शुक्रबार

त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त


  • मेरोभ्यूज
  • भाद्र १९, २०८३ शुक्रबार

  • त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

     

    काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)सहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेको हो । 

    जसअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा.डा. अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएको छ । शिवाकोटी त्रिविको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन ।

    त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्रा.डा. तारादत्त भट्ट नियुक्त भएको छ ।

    मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सह-प्राध्यापक डा. सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त भएको छ ।

    नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारहरूले शिक्षा तथा खेलकूद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएको छ ।

    शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार तथा सर्वाङ्गीण विकासका लागि टिमवर्क र प्रभावकारी समन्वयका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएको छ । उनले उच्च शिक्षा सुधारका लागि उपकुलपति, रजिस्ट्रारलगायत विश्वविद्यालयका पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको बताएको छ ।

    मन्त्री पोखरेलले विश्वविद्यालयलाई उत्कृष्ट र अनुसन्धानमुखी संस्थाका रूपमा विकास गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्रालयबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।

    शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरण र कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शैक्षिक गुणस्तर, परीक्षा प्रणाली सुधार तथा विश्वविद्यालयको क्षमता अभिवृद्धिमा सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयबीच प्रभावकारी समन्वय गर्दै गुणस्तरीय जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताए ।

    पोखरा विश्वविद्यालयकी नवनियुक्त रजिस्ट्रार प्रा.डा. निर्मला जमरकट्टेलले आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो ।


    प्रकाशित : शुक्रबार, भाद्र १९ २०८३१०:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार