२०८३, कार्तिक १३ गते शुक्रबार

कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने

कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने


  • मेरोभ्यूज
  • भाद्र १९, २०८३ शुक्रबार

  • कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने

     

    रामपुर (चितवन) । कृषि तथा वन विज्ञान विश्वविद्यालयले बाढी प्रभावित परिवार तथा समुदायको राहत र पुन:स्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ ।

    विश्वविद्यालयको भदौ १३ गते बसेको कार्यकारी परिषद्को बैठकले पदाधिकारी, शिक्षक तथा कर्मचारीको भदौ महिनाको तलब भुक्तानी गर्दा निश्चित प्रतिशत/दिन बराबरको रकम कट्टा गरी उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

    निर्णयअनुसार उपकुलपति, रजिस्ट्रार, सबै डीन र परीक्षा नियन्त्रकबाट एक महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ । त्यस्तै, सबै निर्देशक र सहायक डीनबाट आधा महिनाको तलब बराबरको रकम कट्टा हुनेछ ।

    प्राध्यापक तथा प्रशासक, सह-प्राध्यापक तथा सह-प्रशासक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक शुरु तलब स्केलको १० दिन बराबरको रकम कट्टा गरिनेछ । उप-प्राध्यापक तथा उप-प्रशासक, शाखा अधिकृत तथा प्रशिक्षक वा सो सरहका कर्मचारीबाट सात दिनको तलब बराबरको रकम कट्टा हुनेछ ।

    त्यसैगरी, मुख्य कार्यालय सहायक, कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट पाँच दिन तथा सवारी चालक, कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको पारिश्रमिक कट्टा गरिने विश्वविद्यालयले जनाएको छ ।

    भदौ १० गते रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । सो घटनाप्रति दुःख तथा समवेदना व्यक्त गर्दै विश्वविद्यालयले प्रभावित परिवार तथा समुदायको राहत र पुन:स्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

    विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुविर सिंहद्वारा जारी अत्यन्त जरुरी सूचनामा प्राकृतिक विपदबाट प्रभावित परिवार तथा समुदायको राहत र पुन:स्थापना कार्यमा स्वेच्छिकरूपमा आर्थिक सहयोग गर्ने विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, शिक्षक तथा कर्मचारीप्रति धन्यवादसमेत व्यक्त गरिएको छ ।


    प्रकाशित : शुक्रबार, भाद्र १९ २०८३१०:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार