२०८३, कार्तिक १२ गते बिहीबार

जलजलाको लुप्राङमा अङ्गुर खेती

जलजलाको लुप्राङमा अङ्गुर खेती


  • मेरोभ्यूज
  • श्रावण २८, २०८३ बिहीबार

  • जलजलाको लुप्राङमा अङ्गुर खेती

     

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ लुप्राङमा अङ्गुर खेतीको परीक्षण सफल भएको छ ।

    समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटर उचाइमा अवस्थित लुप्राङमा रहेको श्रीहरि कृषि तथा पशुपक्षी फार्मकी सञ्चालक ताराकुमारी रेग्मीले अङ्गुर खेतीको परीक्षण गरेको हो ।

    “चार वर्षअघि भारतबाट ल्याएर प्लास्टिकको टनेलभित्र रोपेको अङ्गुरका दुईवटा बोटले उत्पादन दिन थालेका छन्”, उनले भने, “गत वर्ष प्रतिकिलो रु. चार सय ५० देखि पाँच सयका दरले रु. ३५ हजारको अङ्गुर घरबाटै बेचेकी थिएँ । यसपाली दाना बढी लागेकाले उत्पादन बढ्ने अनुमान छ ।”

    अङ्गुरको दाना पाक्ने समयसम्म नझरी बोटमा रह्यो भने कृषि प्राविधिकहरूसँग सल्लाह गरेर अङ्गुर खेती विस्तार गर्ने रेग्मीको योजना छ । दुई छोरा पढाउन पाँच वर्ष बागलुङ बजार बसेकी रेग्मीले घर फर्किएपछि अङ्गुर, गोलभेडा, सुन्तला खेतीका साथै बाख्रापालन शुरु गरेकी थिइन् ।

    “कक्षा पाँचसम्म गाउँकै विद्यालयमा पढेका दुई जना छोराहरूलाई स्कूल टाढा भएकाले पाँच वर्ष बागलुङमा डेरा खोजेर दससम्म पढाएँ”, ताराकुमारीले भने, “कक्षा दस उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न दुई जना छोराहरू काठमाडौँ गएपछि घर फर्किएर धान खेती हुने खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरूले असफल हुने काम नगर्न सुझाएका थिए ।”

    स्वदेशमै उद्यमशील बनेर स्वरोजगार, आत्मनिर्भर र आयआर्जनतर्फ अग्रसर हुनुपर्ने धारणाबाट प्रेरित भएकी रेग्मीलाई स्थानीय विद्यालयका शिक्षक रहेका श्रीमानले साँझ, बिहान र बिदाको समयमा बगैँचाको काममा साथ दिएका छन् ।

    उनको बगैँचामा सात सय ५० सुन्तला र कागतीका बोट छन् । गत वर्ष रु. चार लाख ८० हजारको सुन्तला बिक्री भएको रेग्मीले बताइन् ।

    प्लास्टिक टनेलभित्र अङ्गुरका साथै टमाटर खेती पनि गरेकी छन् । हुर्कदै गरेको सुन्तला बगैँचाभित्र सिमी खेती गरेकी छन् । अङ्गुर गाउँबाट बिक्री हुन्छ । सुन्तला पोखरा र तरकारी कुश्मामा खपत हुने गरेको छ । कृषि फार्मबाट वार्षिक रु. दसदेखि १२ लाख बचत गर्ने रेग्मीको कमाइ देखेर विगतमा सुन्तला रोप्दा गाली गर्नेहरू दङ्ग परेका छन् ।

    उनकै सिको गरेर धेरैजसो लुप्राङवासीले धान, मकै, कोदोको विकल्पमा सुन्तला खेती गरेका छन् । उनलाई राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, जलजला गाउँपालिका र वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रममार्फत प्रविधि, पूर्वाधार निर्माणमा सहयोग, सीपमूलक तालिम, व्यावसायिक योजना तयार पार्न, भ्रमण र प्रदर्शनीको व्यवस्था मिलाइएको छ ।

    नाग्लिवाङ हुँदै लुप्राङ जोड्ने सडक स्तरोन्नती नहुँदा कृषि उपज बिक्रीका लागि बजार पठाउन समस्या भएको किसान रेग्मीले गुनासो गरिन् । बाँदरको समस्या पनि मुख्य चुनौती बनेको छ । यसपाली गत जेठ १२ गते परेको असिनाले खाद्यबाली, सुन्तला र तरकारी खेतीमा क्षति पुर्याएको किसानहरूले गुनासो गरेका छन् ।


    प्रकाशित : बिहीबार , श्रावण २८ २०८३०९:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार