२०८३, कार्तिक १३ गते शुक्रबार

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो


  • मेरोभ्यूज
  • श्रावण १३, २०८३ बुधबार

  • केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

     

    कैलाली । कैलालीका किसान बहुबाली खेतीतर्फ आकर्षित भएका छन् । केराखेती गर्ने किसानले केराखेतीसँगै मकै, खुर्सानी, तोरी खेतीलगायत गर्न थालेका छन् ।

    टीकापुर नगरपालिका–४ बाघमाराका किसान टेकेन्द्र धामीले केरा खेतीभित्र मकै खेती गरेका छन् । उनि यस वर्ष मकैको दुई बाली लिने तयारीमा छन् ।

    केराखेतीभित्र एक पटक उत्पादन भएको मकै बेचिसकेका धामीको बारीमा फेरि केरासँगै मकै फस्टाउँदै गएको छ ।

    धामीले साढे छ बिघा जमिनमा केराखेतीसँगै मकै खेती गरेका छन् । एक पटक लाखौँ रुपैयाँ बराबरको मकै उत्पादन लिइसकेका उनको बारीमा फेरि मकै खेती फस्टाएको छ ।

    “तयार भएको मकै चैतमा बजारमा हरियो नै बेचियो, पोलेर बिक्री गर्ने भएकाले खपत राम्रै भयो”, उनि भन्छन्, “अब अर्को मकै बालीबाट ४५ क्विन्टल जति उत्पादन हुने अनुमान गरेको छु । यो बाली साउनको पहिलो सातातिर तयार हुन्छ, यसले पनि राम्रै बजार पाउँछ ।”

    लामो समयदेखि २१ बिघामा केराखेती गरिरहेका धामीले गत वर्ष पनि केराखेतीभित्र खुर्सानी र तोरी खेती गरेका थिए । केराखेती गरिरहेका उनले विगतमा गरिने केरा खेतीको समय परिवर्तन गरेका छन् । विगतमा असारमा केरा रोप्ने गरेका धामीले दुई वर्षदेखि मङ्सिरमा आधा जमिनमा केरा रोपे ।

    “असारमा रोपेको केरा भदौमा तयार हुन्छ, सबैले असारमै रोप्ने गर्नाले चिसो मौसममा राम्रो केरा नपाइने समस्या हुन्छ । त्यसैले मैले केरा दुई समयमा रोप्न थालेको छु”, धामी भन्छन्, “मङ्सिरमा रोपेको केरामा बहुबाली खेती गर्ने गरेको छु । यसरी खेती गर्दा वर्षामा हावाहुरीले गर्ने क्षतिबाट जोगिन्छ । विपद्बाट जोगिने र दुईभन्दा बढी बाली उत्पादन लिन सकिन्छ ।”

    टीकापुर–५ पहाडीपुरका किसान शेरबहादुर साउदले गत वर्ष असारमा केरा रोपे । केरा खेतीको बीचमा असोज महिनामा उनले मकै र तोरी खेती गरे । “एक बिघा जमिनमा प्रयोग गरौँ भनेर खेती गरे, केराको दायाबाया कमै र बीचमा तोरी छरे”, उनि भन्छन्, ‘‘दुई क्विन्टलभन्दा बढी तोरी उत्पादन भयो । रु. ४० हजारको त हरियो मकै बिक्री गरे, ६० किलो जति दाना मकै पनि छ ।”

    बेमौसमी मकै तयार भएकाले राम्रो फाइदा भएको साउदको भनाइ छ । उनको बारीमा अहिले केरा राम्रो फस्टाएको छ । “केरा खेतीबाट पनि करिब रु. पाच लाखसम्म आम्दानी लिन सकिन्छ”, उनि भन्छन्, “मैले पाँच बिघा जमिनमा केराखेती गरेको छु, केराभित्र अन्य बाली उत्पादन लिन सकिन्छ । मेहनत गरेमा पर्याप्त कमाइ गर्न सकिन्छ ।”

    बहुबाली खेती भनेको एउटै जमिनमा एउटै समयमा दुई वा दुईभन्दा बढी बाली लगाउने प्रविधि हो । बहुबाली खेतीले किसानलाई दोहोरो आम्दानी दिलाउने भएकाले किसान त्यसतर्फ आकर्षित भएका हुन् । एउटै खेतमा मुख्य नगदे बालीसँगै अन्य तरकारी वा अन्नबाली लगाउँदा जमिनको अधिकतम उपयोग हुने, उत्पादनमा विविधता र आम्दानी बढाउने कृषि विज्ञहरू बताउँछन् ।

    सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका प्रमुख डा. विष्णुविलास अधिकारी बहुबाली खेती किसानका लागि फाइदाजनक भएको बताउँछन् । “एउटा मुख्य बाली हुन्छ, बीचमा भुसुवा बाली लगाइन्छ । त्यसमा दुई वा दुईभन्दा बढी बाली लगाउन सकिन्छ”, उनी भन्छन्, “मकै खेतीमा भटमास, कोदो रोप्न सकिन्छ । तोरी लगाएमा तोरीभित्र केराउ, मसुरो, आलस लगाउन सकिन्छ ।”

    डा. अधिकारीका अनुसार मुख्य बाली बाहेक बीचमा भएको खाली जमिनमा अर्को बाली लगाएमा उत्पादन बढी लिन सकिने र एउटा बालीमा रोग किराले नोक्सान भए पनि अर्को बालीबाट उत्पादन लिँदा किसानलाई घाटा हुँदैन ।

    “एउटा बालीले अर्को बालीलाई फाइदा गर्छ । थरिथरिका बाली लगाउँदा फरक-फरक किसिमका कीरा र रोग लाग्दैन । किसानले कोसे बालीमा प्राथमिकता दिनुपर्छ”, डा. अधिकारी भन्छन्, “कोसेबाली मिसाएर लगाएमा वायुमण्डलमा भएको नाइट्रोजन स्थिरीकरण गरेर लिन्छ, जसले माटो मलिलो हुन्छ । किसानले थरिथरिका बाली बालीचक्रमा मिलाएर लगाएमा फाइदा लिन सकिन्छ ।”

    कैलालीमा सयौँ किसान केराखेतीमा लागेका छन् । यहाँ करिब एक हजार हेक्टर जमिनमा केराखेती गरिएको छ । केराको उत्पादन लिन एक वर्ष बढी समय लाग्ने भएकाले एक वर्षभित्र केराको बीचको जमिनमा अर्को उत्पादन लिन सकिन्छ ।

    फलफूलमा अन्य बाली लगाएर उत्पादन लिनुपर्छ । बहुबालीले माटोको संरक्षण गर्ने, खाली जमिनमा पानी वाष्पीकरण भएर उडेर जाने भएकाले खेर जाने पानी पनि अन्य बाली लगाउँदा संरक्षण हुन्छ । मल, जल सबै संरक्षण हुन्छ । “यसका फाइदा नै फाइदा छन्”, डा. अधिकारीले भने ।


    प्रकाशित : बुधबार, श्रावण १३ २०८३०९:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार