चितवन । दश वर्ष दुवइमा मजदूरी गरेर फर्केका टिकाबहादुर गुरुङले मायाँटारमा घरबास शुरु गरेपछि विदेश फर्कने सोच बदलेको छ । इच्छाकामना गाउँपालिका–३ मायाँटारमा बाटो छेउमा आफैँ वसेको घरबाट उनले घरबास शुरु गरेको हो ।
वि.सं. १९७८ मा बनेको पुरानो शैलीको घरमा बाटो हिँड्नेहरुलाई बास दिने चलन थियो । यही बाटो हुँदै उपरदाङ्गढी, शक्तिखोर, हुग्दी खोला, इच्छाकामना मन्दिर, फिस्लीङ्लगायतका ठाउँमा हिँडेर जानेहरु रातमा यही बास बस्ने गर्थे । गुरुङले भने, “बाटोको घर भएकाले यही बाटो हुँदै हिँडडुल गर्नेहरुको बस्ने थलो हो यो”, उनले थपे, “हामीले पहिला देखिनै खाना खान दिन्थ्यौँ, मान्छे सुताउँथ्यौँ ।”
दश वर्षको वैदेशिक रोजगारपछि फर्केका गुरुङले चार वर्ष अघि यो घरलाई मर्मतसम्भार गरेर घरबासका लागि कोठा बनाए । दुवईमा होटलमा काम गरेको अनुभव लिएका उनले फेरि फर्किएर जानुभन्दा यही केही गर्ने सोच बनाए ।
दुवईमा मासिक रु. एक लाख कमाउने गुरुङ यहाँ तीन जनालाई रोजगारी दिएर रु. ८० हजार हाराहारी कमाइ हुन थालेपछि विदेश जाने योजना स्थगित गरेर यही घरबास सञ्चालन गरेको बताउँछन् । साथीभाइको सुझावलाई मनन गर्दै उनले आफ्नो पुरानो घरमा घरबास बनाए ।
उनले भने, “यही घरबाट शुरु गरेको पहिलो पिँढीमा दुईवटा कोठा र पछि दुईवटा गरेर चारवटा कोठा तयार भयो ।” यही घरमा उनीहरुको परिवार बस्थ्यो ।
जिल्लाको पहाडी भू-भागमा घरबास बने पछि त्यहाँ जानेहरुको चहल-पहल वढ्न थाल्यो । गर्मीको मौसममा जानेहरु बढी हुन थाले । बिहानै घाम लाग्ने भएकाले जाडो महिनामा पनि रात बिताउन जानेहरु बढ्न थालेपछि आफूले घरबास विस्तार गरेको उनी बताउँछन् । अहिले घर बाहिर पनि कोठा बनाएको छु । एघारवटा कोठा छन् । तीमध्ये चारवटामा सँगै शौचालय पनि छ ।
उनले भने, “पाहुनाको मागअनुसार विस्तार गर्दै छौँ ।” हिजो मायाँटार सुगम जिल्ला भएर पनि कर्णालीजस्तो रहेको भन्दै उनले बाटो, बत्ती सबै भए पछि अब मायाँटार पर्यटकीय गन्तव्य वन्न सकेको उनी बताउँछन् ।
दुई वर्षयता मायाँटारमा बिजुली बत्ती पुगेको छ । त्यस अघि पाहुनालाई टुकी र सोलारको उज्यालोमा राख्ने गरेको उनी बताउँछन् ।
मायाँटार चिनाउन चितवनका पत्रकारको भूमिका रहेको भन्दै उनले भने, “मायाँटार बन्नुमा पत्रकारको ठूलो हात छ । समाचारकै कारण यहाँ बिजुली आयो र घुम्ने ठाउँ हो भन्ने प्रचार भयो ।”
मायाँटार घुम्न आउनेहरुका लागि यहाँको रमणीय वातावरणसँगै नजिकै रहेको बालगौरी पाथीभरा मन्दिर प्रमुख गन्तव्य हो । सेतो पहरा गुफा यहाँबाट १५ मिनेटको दूरीमा छ । तीन किलोमिटर पर पर्यटकीय गन्तव्य रिग्दी खोला छ । जहाँ चिसो पानीमा नुहाउन र असला माछा पाइन्छ ।
त्यस्तै उपरदाङ्गढी यहाँबाट नजिकै पर्दछ । प्रचार हुँदै गएपछि पाहुनाको चाप हुन थालेको छ । एक रातमा ४० जनासम्म राख्ने क्षमता आफूसँग रहेको भन्दै उनले अहिले वरपर अरुले पनि घरबास बनाउन थालेको बताए ।
बिदाको दिनमा पहिलेनै फोनमार्फत बुकिङ हुने गरेको उनी बताउँछन् । आफूले स्थानीय उत्पादित खानेकुरा पाहुनालाई खुवाउने गरेको गुरुङले बताए ।
त्यही उत्पादन भएको फर्सी, स्कुस, निगुरो, लोकल कुखुरा, बोका, खसीजस्ता स्थानीय उत्पादनमा पाहुना रमाउने गर्दछन् ।
चितवनको तराई क्षेत्रमा अत्याधिक गर्मी हुँदा पनि त्यहाँ सिरक ओढेर सुत्नुपर्छ । यहाँ चितवनसहित काठमाडौं, मकवानपुर, पर्सा, नवलपरासी, कास्कीलगायतका धेरै जिल्लाबाट आन्तरिक पर्यटक घुम्न आउने गर्छन् ।
यो समुन्द्रिक सतहबाट करिब तीन हजार पाच सय मिटर उचाइमा छ । भरतपुरबाट एक घण्टा ३० मिनेट हाराहारीको यात्रामा यहाँ पुग्न सकिन्छ । शक्तिखोर हुँदै त्यहाँ पुग्ने सडक कालोपत्रे छ । यही सडक हुँदै पृथ्वीराजमार्गको धादिङको हुग्दी खोला, धादिङ र चितवनको सिमानामा पर्ने मौवा खोला र चितवनको फिस्लिङमा पुग्न सकिन्छ । राजमार्गतर्फबाट पनि त्यतिनै समयमा मायाँटार आउन सकिन्छ ।

