२०८३, कार्तिक १२ गते बिहीबार

करिब रु. एक करोड लगानी गरेर भेंडाबाख्रा फार्म खोलेका छन्त्याल

करिब रु. एक करोड लगानी गरेर भेंडाबाख्रा फार्म खोलेका छन्त्याल


  • मेरोभ्यूज
  • जेठ १८, २०८३ सोमबार

  • करिब रु. एक करोड लगानी गरेर भेंडाबाख्रा फार्म खोलेका छन्त्याल

     

    म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्याललाई शहरबजारको सुविधायुक्त बसाइँ छाडेर भेंडाबाख्राको पछि लागेर लेकबेसी गर्नुपर्ने बाध्यता थिएन् ।

    सुविधा, अवसर र रोजगारीको लागि गाउँबाट शहर र शहरबाट विदेश पलायन हुने क्रम चलिरहेका समयमा म्याग्दीको विकट र दुर्गम क्षेत्रका रुपमा चिनिने मल्कवाङका हिमबहादुर भेंडाबाख्रा पालेर जङ्गल पसेको छ ।

    “युएइमा २० वर्ष काम गरेर कमाएको पैसाले पोखरामा घरपरिवारसँगै बिलासी जीवन बिताउन पनि पुग्ने थियो,” उनले भने “आफ्नो जन्मिएको ठाउँमा पनि केही गरौँ । कोही गाउँ छाडेर गए पनि कोहीले केही गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर जन्मथलो फर्किएर ब्यावसायिक भेंडाबाख्रा पालेको हो ।”

    हिमबहादुरले विदेशमा आर्जेको अनुभव र पूँजीलाई परिचालन गरेर जन्मथलोमा ‘मल्कवाङ भेंडाबाख्रा फार्म’ सञ्चालन गरेको छ । उनका परिवार र आफन्त पोखरामा बसोबास गर्छन् । उनी भने छ सय भेंडा चराउँदै हिउँदमा बेसीका फाँट र बर्खामा हिमालको काँखमा घुम्ती गोठ लिएर पुग्ने गरेको छ ।

    “असोजमा बेसी झारेको भेंडागोठ हिउँदभरी मल्कवाङको फेदी खालीखोलामा राखे,” उनले भने “वैशाख महिनासँगै गोठ लेकतिर सार्दै साउन–भदौमा धौलागिरि हिमालको बुकी पाटनमा पुर्याउछौँ ।” शहरबजारको कोलाहल, प्रदूषण र तनाव भन्दा भेंडाबाख्रासँगै लेकबेसी गर्दा रमाइलो लाग्ने हिमबहादुरले अनुभव सुनाए ।

    एक वर्षमा तीन सयको हाराहारीमा भेंडाबाख्रा बिक्री गर्ने हिमबहादुरले आफू स्वरोजगार बन्नुका साथै गाउँका तीन जनालाई रोजगारी दिएको छ । करिब रु. एक करोड लगानी गरेर भेंडाबाख्रा फार्म खोलेका हिमबहादुरले वार्षिक रु. ३० देखि रु. ४० लाखको भेंडाबाख्रा बिक्री हुने बताए ।

    मासु र पूजाआजाका लागि गोठबाटै भेंडाबाख्राको खसीबोका बिक्री हुन्छन् । उत्पादन गर्न सकेमा बजारको समस्या नभएको हिमबहादुरको अनुभव छ ।

    भेंडाबाख्रालाई हिउँको चिसोबाट बचाउनका लागि धवलागिरि गाउँपालिकाले खालीखोलामा टहरा निर्माण गर्न सघाएको वडाध्यक्ष अमर छन्त्यालले बताए ।

    भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आन्तरिक तथा बाह्य परजीवी तथा महामारीकाविरुद्ध निःशुल्क खोपको व्यवस्था मिलाएको छ ।

    घुम्ती गोठमा भेंडाबाख्राको सुरक्षाका लागि हिमबहादुरले पाँचवटा कुकुर पालेको छ । खाद्यान्न ढुवानी गर्न दुईवटा घोडा पनि सँगै पालेको छ । चरन क्षेत्रको कमी, वन्यजन्तुको आक्रमण र मौसममा आएको परिवर्तन भेंडापालनमा चुनौती बनेको हिमबहादुरले जनाए ।


    प्रकाशित : सोमबार, जेठ १८ २०८३०९:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार