२०८३, कार्तिक १२ गते बिहीबार

धवलागिरिको माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

धवलागिरिको माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित


  • मेरोभ्यूज
  • जेठ १०, २०८३ आइतबार

  • धवलागिरिको माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

     

    म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् ।

    परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटीखेती गरेका हुन् । माकुसका बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवाखेती गरेको बताए ।

    “इलामबाट प्रतिगोटा रु. ३० का दरले बिरुवा किनेर ल्याई सतुवा रोपेको हो”, उनले भने, “एक सय किलोग्राम सतुवा उत्पादन भएको छ ।” केही वर्षअघिसम्म प्रतिकिलोग्राम रु. १६ हजारमा बिक्री हुने सतुवाको मूल्य घटेर रु. पाँच हजार प्रतिकिलोमा झरेकाले बिक्री गर्न नपाएको उनले बताए ।

    रोकाले सतुवाको गानाका साथै १० हजार नयाँ बिरुवा तयार पारेको छ । यसअघि मकै, गहुँ, कोदो, उवा, जौँखेती हुने पाखोबारी र खोल्साको पाखामा सतुवा लगाएको रोकाले बताए ।

    तत्कालीन सशस्त्र द्वन्द्व पछि ४५ वर्षीय रोका खेतीकिसानी र पशुपालन गर्दै आएको थियो ।

    समुद्री सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा भिरालो पाखामा अवस्थित माकुसको भूगोल र हावापानी अनुकूल तथा उच्च मूल्य पाइने भएकाले सतुवाखेती गरेको रोकाले बताए ।

    उनले सतुवाखेतीका साथै व्यावसायिक बाख्रापालन पनि गरेको छ । पचासभन्दा बढी बाख्रा पालेको छ । माकुस नजिकैको जङ्गलमा प्राकृतिक रूपमा पनि सतुवा उत्पादन हुँदै आएको थियो ।

    परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडीबुटीखेती गरेको रोकाले भने ।

    वैदेशिक रोजगार र परम्परागत खेतीकिसानीको विकल्पमा व्यावसायिक जडीबुटीखेती गरेका रोकालाई धवलागिरि गाउँपालिकाले सतुवाखेती गरेको बारीमा पर्खाल बनाएर घेराबार गर्न गत वर्ष रु. एक लाख अनुदान सहयोग गरेको वडाध्यक्ष अमर छन्त्यालले बताए ।

    त्यसैगरी, सतुवाको बिरुवा भएको पल्टमा पलास्टिकको टनेल बनाउन सकेमा तापक्रम सन्तुलित बनाउन, हिउँ, असिना र रोगकीराबाट बचाउन सकिने रोकाको अपेक्षा छ ।

    औषधि बनाउन प्रयोग हुने सतुवा पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्ने चलन छ ।


    प्रकाशित : आइतबार, जेठ १० २०८३१०:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार