२०८३, कार्तिक १३ गते शुक्रबार

फाइबर नेट नपुगेका स्थानमा नेपाल टेलिकमकाे नमस्ते वाइफाइ

फाइबर नेट नपुगेका स्थानमा नेपाल टेलिकमकाे नमस्ते वाइफाइ


  • मेरोभ्यूज
  • माघ ७, २०७८ शुक्रबार

  • फाइबर नेट नपुगेका स्थानमा नेपाल टेलिकमकाे  नमस्ते वाइफाइ

    काठमाडाैं । एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गर्ने भएको छ । कम्पनीले फोरजी एलटीई नमस्ते वाइफाइ सेवाका विभिन्न आकर्षक प्याकेज उपलब्ध गराइरहेको छ ।

    कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेज आवश्यक डिभाइससहित उपभोक्तालाई सहजरुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ । सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र साइबरनेटिक्स प्रालिका सिइओ जेम्स न्याछ्योले हस्ताक्षर गरे ।

    फोरजी एलटीई नमस्ते वाइफाइमार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत प्याकेज र संस्थागत प्याकेज उपलब्ध गराइरहेको प्रवक्ता राजेश जोशीले जानकारी दिए । व्यक्तिगत प्याकेजअन्तर्गत होम ब्रोडब्यान्ड वेसिक रु ८०० मा ६० जिबी ३० दिनका लागि उपलब्ध छ । त्यसैगरी एक वर्षका लागि रु नौ हजारमा ७२० जिबी प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जिबीको दरले एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

    यी दुवैमा एड अन प्याकको रुपमा रु ४०० मा १५ दिनका लागि ६० जिबी प्याक लिन सकिन्छ । होम ब्रोडब्यान्ड प्रिमियमअन्तर्गत रु एक हजार २०० मा १२० जिबी प्याक ३० दिनका लागि उपलब्ध हुन्छ । त्यसैगरी एक वर्षका लागि रु १३ हजार ५०० मा एक हजार ४४० जिबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जिबीको दरले एक वर्षसम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु ६०० मा १५ दिनका लागि १२० जिबी प्याक लिन सकिन्छ ।

    सरकारी संस्था प्याकेजमा रु तीन हजार ६५० र दुई हजार १०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेज उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिकरुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको व्यवस्था छ ।

    हाल देशका अधिकांश स्थानमा फोरजी सेवा पुगिसकेको र घरमा वा कार्यालयमा द्रुत गतिको इन्टरनेट विभिन्न डिभाइसमार्फत चलाउन इच्छुक सेवाग्राहीको सङ्ख्या वृद्धि हुँदै गएकाले यो सेवा प्रभावकारी र आकर्षक हुने अपेक्षा गरिएको छ । 


    प्रकाशित : शुक्रबार, माघ ७ २०७८०७:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार