२०८३, कार्तिक १२ गते बिहीबार

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो


  • मेरोभ्यूज
  • बैशाख ४, २०८३ शुक्रबार

  • कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

     

    भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

    सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भागका रूपमा लिइन्छ ।

    अनुकूल हावापानी, उर्वर माटो र बजार पहुँच सहज भएकाले यहाँका किसान नगदेबालीतर्फ उन्मुख भएका हुन् ।

    वडा कार्यालयका अनुसार माटो सुहाउँदो नगदेबाली पहिचान गरी किसानलाई व्यावसायिक तरकारीखेतीमा जोड दिइँदै आएको छ ।

    सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन भएपछि किसानको सहभागिता बढेको हो ।

    हाल कोदार क्षेत्रका अधिकांश किसान मौसमी तथा बेमौसमी तरकारीखेतीमा संलग्न छन् ।

    गोलभेँडा, काउली, बन्दाकोभी, सिमी, खुर्सानी, हिउँदे आलुलगायत तरकारी उत्पादन हुँदै आएको छ ।

    कतिपय किसानले टनेल प्रविधि अपनाएर वर्षभरि उत्पादन गर्ने अभ्याससमेत थालेका छन् । तरकारी बिक्रीबाट घरखर्च धान्न र बचत गर्न सहज भएको किसानको अनुभव छ ।

    किसानले गरिरहेको प्रयासलाई निरन्तरता दिन वडा कार्यालयले प्राविधिक परामर्श, बीउबिजन, मलखाद तथा साना कृषि उपकरणमा अनुदान सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । “यो क्षेत्रलाई तरकारी उत्पादनको नमूना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ”, वडाध्यक्ष जयबहादुर तामाङले भने, “उत्पादन बढाउन सिँचाइ व्यवस्थापन र आधुनिक प्रविधि विस्तारमा पनि जोड दिएका छौँ ।”

    बजार नजिकै भएकाले उत्पादित तरकारी सदरमुकाम र आसपासका बजारमा सहजै खपत हुने गरेको छ ।

    यातायात पहुँच राम्रो भएकाले किसानले उचित मूल्य पाउने गरेका छन् । केही किसानले सामूहिकरूपमा उत्पादन सङ्कलन गरी बिक्री गर्ने अभ्यास शुरु गरेपछि आम्दानी अझै वृद्धि भएको बताइएको छ ।

    कृषिलाई रोजगारी र आम्दानीको भरपर्दो माध्यम बनाउने उद्देश्यका साथ स्थानीय तहले युवा तथा महिला किसानलाई लक्षित तालिम कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।

    यसले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई समेत कृषि क्षेत्रमा आकर्षित गर्न मद्दत पुगेको छ ।

    व्यावसायिक तरकारीखेतीमार्फत कोदार क्षेत्रले आत्मनिर्भरता मात्र होइन, स्थानीय अर्थतन्त्र सुदृढ बनाउने दिशामा पनि सकारात्मक सङ्केत देखाउन थालेको छ ।


    प्रकाशित : शुक्रबार, बैशाख ४ २०८३१०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार