२०८३, कार्तिक १३ गते शुक्रबार

बेनी–जोमसोम सडकको म्याग्दीखण्डको सडकमा पहिरो रोकथाम योजना शुरु

बेनी–जोमसोम सडकको म्याग्दीखण्डको सडकमा पहिरो रोकथाम योजना शुरु


  • मेरोभ्यूज
  • चैत्र २९, २०८२ आइतबार

  • बेनी–जोमसोम सडकको म्याग्दीखण्डको सडकमा पहिरो रोकथाम योजना शुरु

     

    म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दीखण्डको सडकमा पहिरो रोकथाम योजना निर्माण थालिएको छ ।

    बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले रु. २५ करोडको लागतमा सडकमा खस्ने पहिरो र नदी कटान रोकथाम गर्न योजना निर्माण थालेको हो ।

    पहिरो र कटानका कारण सडकमा नियमित यातायात सञ्चालनमा समस्या हुने गरेको छ ।

    ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित परिचालित भएका योजना कार्यालयका सवइञ्जिनियर बहादुर शाहले बताए ।

    उनका अनुसार रघुगङ्गा गाउँपालिका–२ तल्लो र माथिल्लो बैसरी, नागढुङ्गा, गुइठेभिर, खामभित्ता, लाटोखोला, रूपसे, सेतोखोला र लार्जुङखण्डमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन भएको हो ।

    ‘रक एङ्करिङ’, ‘पलम पर्खाल’, ‘बायो इञ्जिनियरिङ’, ‘थिडिमेस’ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गर्न लागिएको शाहले बताए ।

    अन्नपूर्ण गाउँपालिका–३ दानाको खामभित्ता क्षेत्रको तीन सय मिटर क्षेत्रमा पहिरो रोकथामका लागि रु. सात करोडमा वाम्ती/कोण्डा/टिस्ता जेभीले ठेक्का पाएको छ ।

    अन्नपूर्ण–३ कै गुइठेभिरमा तीन सय मिटर दूरीको सडकको पहिरो रोकथामका लागि जिएसपिएल/वुद्धीसरा जेभीले रु. नौ करोडमा ठेक्का सम्झौता गरेको छ ।

    लाटोखोला, रूपसे, नागढुङ्गा, सेतोखोलाखण्डको पहिरो रोकथामका लागि गजेन्द्र निर्माण सेवाले रु. सात करोडमा ठेक्का पाएको छ ।

    रूपसेखण्डमा एक सय ६० मिटर दूरीमा ढलान सकिएको छ । लाटोखोलामा ‘रक एङ्करिङ’ गरेर पहिरो रोकथाम र फराकिलो पार्ने काम अन्तिम चरणमा पुगेको छ ।

    तल्लो र माथिल्लो बैसरीको पहिरो रोकथाम गर्न जिएसआई/हुटैराज जेभीले रु. दुई करोडको ठेक्का लिएको छ ।

    सडक मुनीको पहाडमा ‘ड्रिलिङ’ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो ।

    ‘रक एङ्करिङ’ गर्न फलामको रड राख्ने प्वाल (होल) बनाइएको छ ।

    ‘रक एङ्करिङ’ गर्नुपर्ने ठाउँको तीन दशमलव पाँच मिटर फराकिलो सडकमा हाल एकतर्फी मात्र सवारीसाधन चल्ने गर्छन् । यसलाई दुईतर्फी सवारीसाधन चल्ने बनाउन सातदेखि आठ मिटर फराकिलो बनाइएको हो ।

    नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाउन लागिएको छ ।

    अन्नपूर्ण गाउँपालिका–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पहिरो रोकथाम भएपछि सडकमा सवारीसाधन आवत-जावत सहज र जोखिममा परेका बस्ती तथा सार्वजनिक संरचनाको संरक्षण हुने अपेक्षा गरिएको बताए ।


    प्रकाशित : आइतबार, चैत्र २९ २०८२०९:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार