२०८३, कार्तिक १२ गते बिहीबार

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा


  • मेरोभ्यूज
  • चैत्र २३, २०८२ सोमबार

  • गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

     

    गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ ।

    चुँदारा समुदायले परम्परागतरूपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए ।

    आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडाहरू भित्रिएसँगै आफ्नो पेसा सङ्कटमा परेको मालिका गाउँपालिका‐७ घमिरका नरबहादुर कार्कीले बताए ।

    आधुनिक प्रविधिसँगै स्थानीय बजारमा शुपथ मूल्यमा आकर्षक देखिने आधुनिक किसिमका भाँडाकुँडाहरू प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको कार्कीले जानकारी दिए ।

    ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिएका ठेका, आरीजस्ता भाँडाहरू दही र मही राख्नका लागि प्रयोग गरिन्छ । काठका भाँडामा राखेको दही र मही चाँडो नबिग्रिनेहुँदा खानको लागि निकै स्वादिलो र राम्रो मानिन्छ ।

    पछिल्लो समयमा बिस्तारै गाउँघरमा काठबाट निर्मित सामग्रीहरू बिस्तारै लोप हुँदै जान थालेको मुसिकोट नगरपालिका–२ का ज्ञानबहादुर नेपाली बताउँछन् ।

    नयाँ पुस्ताहरू विस्तारै गाउँ छोडेर शहर झर्ने, विदेश जाने र पुराना पुस्ताहरू विस्तारै उमेरसँगै सकिदै जान थालेपछि यस्तो समस्या आएको उनले बताए ।

    परम्परागत पेसा र पुराना सामग्रीहरूको संरक्षण गर्नका लागि स्थानीय पालिकाहरूले खासै चासो देखाएका छैनन् । पालिकाले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटमा खासै प्राथमिकता नदिएको चुँदारा समुदायको गुनासो छ ।

    परम्परागत पेसाको संरक्षण र त्यसको बजारीकरणमा खासै चासो नदिँदा गाउँघरमा विस्तारै काठका भाँडाहरू लोप हुँदै जान थालेका हुन ।

    बजारमा पाइने फ्लाष्टिकबाट निर्मित भाँडाहरू झट्ट देख्दा आकर्षक र राम्रा र चिटिक्क देखिने र मूल्य पनि काठका भाँडाको तुलनामा सस्तो पर्ने भएका कारण पनि यस्तो समस्या आएको गुल्मी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष जनक पन्तले बताए ।

    यस्ता प्रकारका परम्परागत सामग्री र वस्तुहरूको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनका लागि पालिकाहरूले थप सहयोग पुर्याउनु पर्नेमा उनले जोड दिए ।

    परम्परागत शैलीबाट निर्माण हुने सामग्रीहरूको उत्पादन गर्न समय धेरै लाग्ने र अलि खर्चिलो हुने बताइएको छ ।

    परम्परागतरूपमा उक्त पेसा गर्दै आएका व्यवसायीहरूले पछिल्लो समयमा काठका भाँडा बनाउने पेसाबाट आफ्नो गुजारा चलाउनसमेत गाह्रो भएको बताउँछन् ।

    आफूले निर्माण गरेका सामग्री बिक्रीका लागि बोकेर गाउँ-गाउँमा डुलाउँदा कहिलेकाही बिक्री नहुँदा त्यत्तिकै फर्कनु परेको छत्रकोट गाउँपालिका‐१ हुँगाका यमन सुनारले गुनासो गरे ।

    काठबाट निर्मित भाँडाको महत्वको बारेमा जानकारी नभएका कारण पछिल्लो समयमा चुँदारा समुदायको पेसा सङ्कटमा परेको हो ।

    गाउँघरमा गिठीको काठबाट निर्माण गरिएका ठेकाको मूल्य बजारमा आकारअनुसार रु. सात सयदेखि रु. सात हजारसम्म पर्ने गर्दछ ।

    जिल्लामा पछिल्लो समयमा आयोजना गरिने मेला महोत्सवलगायत सहकारी पसल र कोशेली घरमा भने फाट्टफुट्टरूपमा यस्ता प्रकारका सामग्रीहरू बिक्रीका लागि राखिने गरिन्छ ।


    प्रकाशित : सोमबार, चैत्र २३ २०८२१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार