२०८३, कार्तिक १२ गते बिहीबार

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी


  • मेरोभ्यूज
  • चैत्र २३, २०८२ सोमबार

  • पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

     

    बागलुङ । बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।

    बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।

    बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि निरन्तर बाजा बजाउँदै आएका छन् । उनीहरुले विद्यालयमा हुने कार्यक्रम र विभिन्न मेला पर्वमा बजाउने गर्छन् ।

    विद्यालयले रु. एक लाख ५० हजारमा बाजा खरिद गरेर विद्यार्थीलाई सिकाउँदै आएको प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    विद्यालयका शिक्षक थमबहादुर परियारले बाजा बजाउन सिकाउनु हुन्छ । कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले बाजा बजाउने गरेको प्र.अ. पौडेलले बताए ।

    उनले भने, “विद्यार्थीलाई गाउँघरमा हुने परम्परागत पेसाप्रति आकर्षित गराउनुपर्छ र मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यले हामीले पन्चैबाजा संरक्षणमा जोड दिएका हौँ, पढाइसँगै अतिरिक्त क्रियाकलाप पनि भएको छ ।”

    त्यसैगरी बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यमिक विद्यालयका विद्यार्थी पनि पन्चैबाजा संरक्षणमा जुटेका छन् ।

    कक्षा ३ देखि १० सम्मका विद्यार्थीले पढाइसँगै बाजा बजाउन सिकिरहेका छन् ।

    विद्यालयमा करिब १५ जना विद्यार्थीले अहिले बाजा बजाउने गर्छन् । शिक्षक रामबहादुर नेपालीले बाजा बजाउन सिकाउँदै आएको छ ।

    विद्यार्थीले चासो दिएपछि बाजा बजाउन सिकाउन थालेको शिक्षक नेपालीले बताए ।

    एक दशक अगाडिसम्म गाउँमा पन्चैबाजा बजाउने धेरै समूह भए पनि पछिल्लो समय एउटा समूह बनाउन सक्रिय छैन ।

    विवाह, ब्रतबन्ध र सार्वजनिक मेला महोत्सवमा पन्चैबाजाको माग भने धेरै छ ।

    त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्र सक्षम परियारले पुर्ख्यौली पेसा र संस्कृतिलाई संरक्षण गर्न आवश्यक रहेको जनाए ।

    घरमा बाउबाजेले बजाउँदा अलिअलि जानेको उनले विद्यालयमा शिक्षकले सिकाउन थालेपछि पूर्णरूपमा जान्ने भएको बताए ।

    बागलुङ नगरपालिकासहित गलकोट, बडिगाड, बरेङलगायतका स्थानीय तहमा रहेका विद्यालयहरुले पनि विद्यालयमा बालबालिकालाई बाजा बजाउन सिकाउन थालेका छन् ।


    प्रकाशित : सोमबार, चैत्र २३ २०८२१०:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार